Logo

समाचार

विद्यार्थीका मोबाइल पानीमा डुबाएर नष्ट गरिएको विषयमा सर्वोच्च अदालतमा मुद्दा



काठमाडौं । सिरहामा एसइई र कक्षा १२ का परीक्षार्थीबाट बरामद गरिएका मोबाइल फोन पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

अधिवक्ता अनिलकुमार साह, पीडित विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले संयुक्त रूपमा दायर गरेको रिटमा गृहमन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड तथा सिरहाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ।

रिट निवेदकहरूमा अभास दास, महेश कुमार महासेठ, रमणकुमार यादव, विकास यादव र अनिषकुमार यादवलगायत रहेका छन्।

मुद्दा दर्तापछि अधिवक्ता साहले प्रशासनले कानुनी प्रक्रिया अवलम्बन नगरी विद्यार्थीका निजी सम्पत्ति नष्ट गरेको भन्दै संलग्न अधिकारीमाथि विभागीय तथा फौजदारी कारबाही गर्नुपर्ने माग गरिएको बताए।

साथै, पीडित विद्यार्थीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि रिटमार्फत माग गरिएको उनले जानकारी दिए।

‘कानुन हातमा लिएर कसैले पनि स्वेच्छाचारी ढंगले कार्य गर्न पाउँदैन। न्यायका लागि हाम्रो पहल जारी रहनेछ,’ साहले भने।

तीन दिनअघि सिरहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल फोन लिएर प्रवेश गरेका विद्यार्थीबाट खोसिएका ४९६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय सिरहाले पानीको ड्रममा डुबाएर नष्ट गरेको थियो।

उक्त घटनाप्रति प्रतिक्रिया जनाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार परीक्षार्थीबाट बरामद गरिएका मोबाइल फोन तथा स्मार्टवाच नष्ट गर्नु गैरकानुनी कार्य भएको बताएका थिए।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार २०:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।