Logo

समाचार

बसुन्धारास्थित कपडा गार्मेन्टमा भीषण आगलागी, नेपाली सेना र विभिन्न निकायको सक्रियतामा नियन्त्रण



काठमाडौं । काठमाडौं महानगरपालिका–२६ बसुन्धारास्थित सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा बुधबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब ३ बजे सुरु भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा विभिन्न दमकलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको हो।

आगलागी नियन्त्रणका लागि नेपाली सेनाको नं. १ विपद् व्यवस्थापन गण र नरसिंहदल गणबाट दुई वटा दमकलसहितको टोली तत्काल घटनास्थलमा खटिएको थियो। सेनासँगै अन्य सुरक्षा निकाय, स्थानीयवासी तथा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, चन्द्रागिरि नगरपालिका, जुद्ध वारुण यन्त्र र वसन्तपुरस्थित दमकलहरू समेत परिचालन गरिएको थियो।

संयुक्त प्रयासपछि आगलागी नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ।

आगलागीबाट सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा उल्लेख्य क्षति पुगेको छ। साथै, गार्मेन्टसँगै जोडिएका किराना पसल र टिभी पसलमा समेत आगो फैलिँदा भौतिक क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

यद्यपि, आगलागीमा कुनै मानवीय क्षति नभएको जनाइएको छ, जसलाई राहतको विषयका रूपमा हेरिएको छ।

आगलागीको कारण र क्षतिको यकिन विवरण भने अझै खुल्न बाँकी रहेको छ। सम्बन्धित निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।

स्थानीयवासीका अनुसार आगो तीव्र गतिमा फैलिएको भए पनि सुरक्षा निकाय र दमकलको समयमै भएको परिचालनका कारण थप क्षति हुनबाट जोगिएको हो।

घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने क्षतिको मूल्यांकन गर्ने कार्य जारी रहेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार ११:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।