काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन संसद वा संसदले गठन गरेको स्वतन्त्र समितिबाट हुनुपर्ने बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाँक्रीले आरोप लागेको व्यक्तिले आफैंले छानबिन गराउनु उचित नहुने भन्दै निष्पक्ष र विश्वसनीय अनुसन्धानको माग गरेकी हुन् । “तपाईंलाई आरोप लागेको छ, तपाईंमाथि प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर तपाईंले छानबिन गराउने होइन,” उनले लेखेकी छिन् ।
झाँक्रीले अर्थमन्त्रीमाथि लागेको आरोपको छानबिन संसद वा संसदले गठन गरेको समितिबाट मात्र सम्भव हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेकी छिन् ।
उनले अर्थमन्त्री वाग्ले विगतमा योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा राज्य संयन्त्रभित्र रहेर काम गरेको र बजेट तथा आर्थिक नीतिका विषयमा विपक्षी बेन्चमा रहँदा पटक–पटक प्रश्न उठाउने व्यक्तित्व रहेको स्मरण गराएकी छिन् ।
“हिजो जे–जे बेथिति थिए भन्नुहुन्छ, तपाईं पावर पोलिटिक्सको नजिक र राज्य संयन्त्रमै हुँदा योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदै त्यो प्रणालीभित्रको चलायमान र जान्ने खेलाडी हुनुहुन्थ्यो,” झाँक्रीले लेखेकी छिन् ।
विपक्षमा रहँदा बजेट र आर्थिक विषयमा वाग्लेले गरेका टिप्पणी तथा अभिव्यक्तिहरू सार्वजनिक रूपमा उपलब्ध रहेको उल्लेख गर्दै उनले अहिले उठेका प्रश्नहरूलाई सामान्यीकरण गर्न नमिल्ने बताएकी छिन् ।




















प्रतिक्रिया