Logo

अर्थ

नेपाल टेलिकममा अर्बौंको सामग्री खरिद प्रक्रियामा अनियमितताको आरोप, अख्तियारमा उजुरी



काठमाडाैं । नेपाल टेलिकममा अर्बौँ रुपैयाँ बराबरका खरिद प्रक्रियामा अनियमितता भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ ।

अख्तियारमा परेको उजुरीमा नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र कर्मचारी सञ्जीव देवमाथि ब्यान्डविथ, सिग्नलिङ, बिलिङ, टावर, स्विच तथा क्लाउड सेवासम्बन्धी अर्बौं रुपैयाँ लागत अनुमान भएका परियोजनाहरूमा निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी प्राविधिक मापदण्ड (स्पेसिफिकेसन) तयार गरिएको आरोप लगाइएको छ ।

उजुरीअनुसार डंगोलको कार्यकाल सकिन करिब दुई महिना बाँकी रहेको अवस्थामा दीर्घकालीन प्रभाव पर्ने विभिन्न परियोजनामा प्रतिस्पर्धा सीमित हुने गरी ‘भेन्डर लक’ र ‘स्पेसिफिकेसन लक’ सिर्जना गरिएको दाबी गरिएको छ। यसमार्फत करोडौं रुपैयाँ कमिसन संकलन गर्ने योजना बनाइएको आरोप पनि उजुरीमा उल्लेख गरिएको छ ।

यस्तै, सञ्जीव देवलाई खरिद शाखामा ल्याएर विभिन्न व्यवसायी तथा कम्पनीका प्रतिनिधिसँग नियमित सम्पर्क राख्ने, होटल तथा रेस्टुरेन्टहरूमा भेटघाट गर्ने तथा खरिद प्रक्रियासम्बन्धी कमिसनका विषयमा छलफल गर्ने गरेको आरोप समेत उजुरीमा लगाइएको छ ।

उजुरीमा डंगोलले निमित्त प्रबन्ध निर्देशक पद प्राप्त गर्न तत्कालीन सरकारका प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई करोडौं रुपैयाँ बुझाउने सर्तमा वरिष्ठता मिचेर नियुक्ति लिएको दाबी गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार १२:११   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।