Logo

राजनीति

कांग्रेसको डिजिटल अभियान: क्रियाशील सदस्यता अनलाइन अद्यावधिक गर्ने समय आज राति सकिँदै



काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिकका लागि तोकेको समयसीमा बिहीबार मध्यरातिसम्म मात्रै रहने जनाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार जेठ २८ गते राति १२ बजेसम्म अनलाइन प्रणाली खुला रहनेछ।

महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले अन्तिम समयमा प्रणालीमा प्राविधिक चाप बढ्न सक्ने भएकाले समयमै सदस्यता अद्यावधिक गर्न क्रियाशील सदस्यहरूलाई आग्रह गरेका छन्।

उनका अनुसार कांग्रेसको आधिकारिक वेबसाइटमार्फत सदस्यहरूले मोबाइल फोनबाटै सहज रूपमा फाराम भर्न सक्ने व्यवस्था गरिएको छ। प्राविधिक समस्या आएमा वडा सभापति वा जानकार व्यक्तिको सहयोग लिन पनि उनले अनुरोध गरेका छन्।

कांग्रेसका अनुसार अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २७ गते बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले डिजिटल पहिचान (एसीआईडी) प्राप्त गरिसकेका छन्।

थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फाराम बुझाएर प्रक्रिया अघि बढाएका छन्। यससँगै अद्यावधिक प्रक्रियामा सहभागी सदस्यको संख्या करिब ६ लाख पुगेको पार्टीको दाबी छ।

संगठनलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले कांग्रेसले पहिलोपटक सदस्यता अद्यावधिक अभियानलाई पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन गरेको हो।

केही तहबाट अभियानमा अवरोध गर्ने प्रयास भए पनि गाउँस्तरमा कार्यकर्ताको सहभागिता उत्साहजनक रहेको केन्द्रीय कार्यालयले जनाएको छ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विगतमा नेताहरूले कार्यकर्ताको तर्फबाट फाराम भरिदिने अभ्यासका कारण सदस्य संख्या वास्तविकभन्दा बढी देखिने गरेको उल्लेख गर्दै यसपटक कार्यकर्ता स्वयं प्रणालीमा सहभागी भएकाले तथ्यांक यथार्थपरक बन्ने बताए।

पार्टी नेतृत्वले तोकिएको समयभित्र अनलाइन प्रणालीमा दर्ता नहुने सदस्यले आगामी १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ।

शिवाकोटीले समयसीमा सकिएपछि केन्द्रीय कार्यालयमा गरिने दबाब वा विरोधको सुनुवाइ नहुने स्पष्ट पार्दै सदस्यता अद्यावधिक गर्न बाँकी रहेका कार्यकर्तालाई निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरे।

कांग्रेसका अनुसार डिजिटल अभियानमार्फत सदस्यहरूको नामसँगै अन्य आवश्यक विवरण पनि व्यवस्थित रूपमा अभिलेखीकरण हुने भएकाले आगामी महाधिवेशनलाई थप निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार ०९:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।