Logo

अर्थ

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान



काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । उम्मेदवार हुनका लागि देहायका योग्यताहरुमा दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ।

शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ । साथै, कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा ५ वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

इच्छुक आवेदकले सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा गई कार्यालय समयभित्र आफ्नो दरखास्त बुझाउन सक्नेछन् ।

सरकारले अध्यादेश ल्याएर सार्वजनिक पद धारण गरेका व्यक्तिलाई हटाएपछि कम्पनीका तत्कालिन सिइओ रमेश आचार्यले राजिनामा दिएपछि कम्पनी लामो समयदेखि प्रमुख बिहिन रहेको थियो ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार ११:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।