Logo

अर्थ

सिंहदरबार क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाखभन्दा बढी जरिबाना



काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको सेन्ट्रल क्यान्टिनमा अखाद्य र गुणस्तरहीन सामग्री प्रयोग भएको फेला परेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको निरीक्षणमा गम्भीर अनियमितता भेटिएको हो ।

अनुगमनका क्रममा ‘जी एन्ड बी क्याफे ग्रुप’ द्वारा सञ्चालित उक्त क्यान्टिनको स्टोरमा १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम तथा प्रयोग गर्न अयोग्य अवस्थामा रहेका १४ वटा फुटेका अन्डा फेला परेको विभागले जनाएको छ।

करिब ६ हजार ५ सय ६० रुपैयाँ बराबरका ती गुणस्तरहीन सामग्रीलाई अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर नष्ट गरिदिएको छ ।

अखाद्य र म्याद नाघेका वस्तु प्रयोग मार्फत उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) विपरीत कार्य गरेको ठहर गर्दै विभागले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।

यसैगरी भक्तपुर चाँगुनारायण नगरपालिका–३ मा सञ्चालित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ मा पनि अनुगमन गरिएको थियो ।

उक्त खानेपानी उद्योगले खरिद बिल नराखेको र उपभोक्ता संरक्षण ऐन बमोजिमका प्रक्रिया पूरा नगरेकाले १० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

अन्य १० फर्मलाई सामान्य सुधार निर्देशन दिइएको छ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार १८:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।