Logo

अर्थ

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि चिया उद्योग बन्द हुँदै



काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेपछि उत्पादनको मुख्य सिजनमै चिया उद्योगीहरूले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । इलामको सूर्योदय नगरपालिकाका उद्योगीहरूले आउँदो असार १ गतेदेखि कारखाना बन्द गर्ने निर्णय गरेका हुन् ।

सूर्योदय नगरपालिकामा मात्रै २ हजार ९ सय ९५ चिया किसान छन् । नगरको ३३ हजार ६ सय ५५ रोपनीमा भइरहेको चिया खेतीबाट वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ ।

इलामको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि नै उद्योग बन्द गर्ने घोषणा गरेको हो । तयारी चिया बिक्री गर्न नपाउँदा किसानबाट खरिद गरेको हरियो पत्तीको मूल्य दिन नसकिने भएकाले कारखाना बन्द गर्नुपरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनमा ५३ वटा उद्योग आबद्ध छन् ।

भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ । जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ ।

भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपेको उद्योगीहरूको गुनासो छ ।

निर्यात ठप्प भएपछि उद्योगहरूले चिया किसानलाई हरियो पत्तीको भुक्तानी समेत दिन नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ ।

उद्योग बन्द हुँदा चिया किसान, श्रमिक र व्यवसायीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै एसोसिएसनले यो गम्भीर समस्याको उचित निकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारका साथै सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरूसँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार ११:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।