Logo

समाचार

वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी: मन्त्री यादव



काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार र ऐन संशोधनको तयारी भइरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै मन्त्री यादवले मन्त्रालयको अधिकांश काम वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमै केन्द्रित रहेको उल्लेख गरे।

उनका अनुसार मन्त्रालयमा आउने उजुरी, गुनासा र समस्या अधिकांश वैदेशिक रोजगारसँग सम्बन्धित हुने भएकाले पहिले त्यस क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको छ।

‘म मन्त्रालयमा जाँदा ८० प्रतिशत काम वैदेशिक रोजगारसँग सम्बन्धित थियो। दिनभरि वैदेशिक रोजगारका समस्या, पीडा र बेथिति सुन्दै समाधान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसैले हामीले वैदेशिक रोजगार ऐन संशोधन गरेर प्रणाली सुधार गर्ने र आन्तरिक रोजगारी विस्तार गर्ने निर्णय गरेका छौँ।’

मन्त्री यादवले बेरोजगारीलाई देशको प्रमुख चुनौती भए पनि युवा नै सबैभन्दा ठूलो सम्भावना भएको बताए। अवसर, लगानी, बजार र आत्मविश्वासको कमीका कारण युवा पछि परिरहेको उनको भनाइ थियो।

उनले भने, ‘हाम्रो ठूलो समस्या युवा बेरोजगारी हो भनी हामी सबै भन्छौं तर नेपालको सबैभन्दा ठूलो सम्भावना पनि हामी युवा नै हो । तर अवसर, लगानी, बजार र कहीलेकाही आत्मविश्वासको कमिले पनि हामी पछाडि परेका छौं।’

उनले उद्यमीहरूलाई राष्ट्र निर्माणको अग्रपङ्क्तिमा रहेको भन्दै विशेष धन्यवाद व्यक्त गरे। साथै सरकारले मात्रै रोजगारी सिर्जना गर्न नसक्ने उल्लेख गर्दै निजी क्षेत्र र उद्यमीहरू मुख्य आधार भएको बताए।

‘समस्याहरुलाई चिरेर व्यवसाय गरिरहेका यहाँ उपस्थित उद्यमीहरुलाई विशेष धन्यवाद भन्छु, किनकी तपाईहरुले केवल आफ्नो व्यवसाय मात्र चलाउनु भएको हैन, अरुको लागि रोजगारी सिर्जना पनि गरिरहनु भएको छ । तपाईहरु राष्ट्र निर्माणको अग्रपङ्तिमा बसेर काम गर्नुभएको छ,’ उनले भने ।

सरकारले मात्र रोजगारी सिर्जना गर्न नसक्ने भन्दै उनले रोजगारी सिर्जनाको मुख्य शक्ति निजी क्षेत्र रहको बताए ।

‘सरकारले मात्र रोजगारी सिर्जना गर्न सक्दैन, मुख्य शक्ति निजी क्षेत्र हो,’ उनले भने, ‘युवालाई जागिर खोज्ने होइन, अवसर पहिचान गर्ने बनाउनु आवश्यक छ।’

मन्त्री यादवले युवालाई उद्यमशीलतामा जोड दिन सरकार प्रतिबद्ध रहेको पनि बताए।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार १७:११   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।