Logo

राजनीति

‘डेढ दशकदेखि मुलुक स्वार्थ समूहको कब्जामा थियो, त्यो चक्र हामी तोड्दैछौँ’ : अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल विगत डेढ दशकदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा परेको दाबी गर्दै वर्तमान सरकारले त्यस्तो संरचनागत कब्जालाई तोडेर सुशासन र आर्थिक सुधारको अभियान अघि बढाएको बताएका छन्। उनले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटाला न्यायिक प्रक्रियामा रहेको उल्लेख गर्दै राज्य संयन्त्र कसरी प्रभावित बनाइएको थियो भन्ने तथ्य सार्वजनिक हुन थालेको बताएका हुन्।

अर्थमन्त्री  वाग्लेले मुलुकको राजनीतिक, प्रशासनिक तथा आर्थिक संरचना लामो समयसम्म निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी समेत गरे। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगत १०–१५ वर्षको अवधिमा सीमित स्वार्थ समूहहरूले राज्य सञ्चालनका विभिन्न तहमा प्रभाव जमाएको बताए।

उनका अनुसार राजनीतिक नेतृत्व मात्र होइन, राज्यका अन्य निकायहरू समेत त्यस्ता समूहहरूको प्रभावबाट मुक्त रहन सकेका थिएनन्। अहिलेको सरकारले त्यही विकृत संरचना भत्काउने र राज्य प्रणालीलाई जनउत्तरदायी बनाउने प्रयास गरिरहेको उनले बताए।

“विगत १०–१५ वर्ष यो देश निहित स्वार्थ समूहहरूको कब्जामा थियो। स्वार्थ समूहले देशलाई क्याप्चर गरेका थिए। राजनीतिज्ञहरू उनीहरूको गोजीमा थिए। राज्यका अन्य अंगहरू समेत उनीहरूको प्रभावमा थिए। अहिले हामी त्यो चक्र तोड्ने काम गरिरहेका छौँ,” मन्त्री वाग्लेले भने।

उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालामध्ये एक प्रकरण अहिले न्यायिक प्रक्रियामा रहेको उल्लेख गर्दै त्यसमा एक खर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको बताए। उक्त प्रकरणको पृष्ठभूमि अध्ययन गर्दा राज्यका महत्वपूर्ण निकाय र राजनीतिक व्यक्तिहरू कसरी प्रभावमा परेका थिए भन्ने कुरा स्पष्ट हुने उनको भनाइ थियो।

“नेपालको इतिहासमा सबैभन्दा ठूलो वित्तीय घोटाला अहिले अदालतको प्रक्रियामा छ। एक खर्बभन्दा बढी बिगो माग गरिएको छ। यसको पछाडिको कथा हेर्दा राजनीतिक नेतृत्व र विभिन्न निकायहरू कसरी प्रभावित भएका थिए भन्ने कुरा अत्यन्तै गम्भीर देखिन्छ,” उनले भने।

सरकार अहिले अर्थतन्त्रमा देखिएका बेथिति, अनियमितता र संरचनागत समस्याहरू हटाउने अभियानमा केन्द्रित रहेको उनको भनाइ छ। “क्लिन अप दि मेस” अर्थात् विगतका अव्यवस्था र विकृतिहरू सफा गर्ने अभियान सरकारको प्राथमिकतामा रहेको उनले बताए।

युवाहरूलाई विदेश पलायन हुन बाध्य बनाउने निराशावादी भाष्य तोड्ने उद्देश्यसहित सरकार अघि बढिरहेको पनि उनले बताए। नेपालमा अवसर छैन, सपना पूरा गर्न विदेश जानैपर्छ भन्ने सोचलाई परिवर्तन गर्न आर्थिक तथा नीतिगत सुधारहरू अगाडि बढाइएको उनको दाबी थियो।

“यो देशमा केही हुँदैन, यो देश कहिल्यै बन्दैन, सपना पूरा गर्न विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न हामी लागेका छौँ। युवाहरूले आफ्नै देशमा सम्भावना देखून् भन्ने हाम्रो चाहना हो,” उनले भने।

अर्थमन्त्री वाग्लेले सुशासन, पारदर्शिता र आर्थिक समृद्धिको आधार निर्माण गर्न सरकार पाँच वर्षे स्पष्ट रोडम्यापसहित काम गरिरहेको बताए। सुधारका लागि सबै कुरा बजेटसँग मात्र जोडिनु नहुने उल्लेख गर्दै युवाहरूले प्रत्यक्ष रूपमा सुधारका सुझाव दिन आग्रह समेत गरे।

उनका अनुसार आर्थिक सुधार, लगानीमैत्री वातावरण निर्माण, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवामा पारदर्शिता बढाउने लक्ष्यसहित सरकार अघि बढिरहेको छ। “के सुधार गर्नुपर्छ भन्ने विषयमा युवाहरूको सहभागिता आवश्यक छ। त्यसका लागि सधैं बजेट नै कुर्नुपर्दैन,” उनले बताए।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार १९:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।