काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप लगाउँदै त्यस्ता मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत र संघर्षबाट प्राप्त जनादेशकै आधारमा वर्तमान सरकार बनेको दाबी गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको बताइन्।
खतिवडाले निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाउँदै विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख (एसपी) आएपछि यस्ता गतिविधि बढेको दाबी गरिन्।
उनले सरकारले यसअघि झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठाइन्।
उनले भनिन्,‘जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत र संघर्षबाट बनेको दुईतिहाइको सरकारले अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूको घर–घरमा पुगेर पक्राउ पुर्जी जारी गरिरहेको छ । निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने काम भइरहेको छ । काभ्रेको पनौतीमा नयाँ एसपी आएलगत्तै यस्ता गतिविधि बढेको गुनासो आएको छ । सरकारले झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन। युवाहरूको त्याग, संघर्ष र समर्थनबिना यो सरकार अघि बढ्न सक्दैन। त्यसैले जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू यथाशीघ्र खारेज गरियोस्।’




















प्रतिक्रिया