काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा निर्माण सम्पन्न गरेको ३३/११ केभी क्षमताको ६/८ एमभिए सबस्टेशन सञ्चालनमा ल्याएको छ । यससँगै क्षेत्रका करिब १८ हजार उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्ने भएका छन् ।
प्राधिकरणकाअनुसार प्रारम्भिक चरणमा ठेक्का प्रक्रियामार्फत निर्माण कार्य अघि बढाइए पनि निर्माण कम्पनीले आवश्यक इलेक्ट्रोमेकानिकल काम पूरा नगरेकाले सम्झौता अन्त्य गर्नुपरेको जनाएको छ ।
पुनर्वास क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज र अनियमित विद्युत् आपूर्तिका समस्या देखिँदै आएको थियो ।
प्राधिकरणले स्थानीय उपभोक्ताको गुनासो बढ्दै गएपछि प्राधिकरणले वैकल्पिक उपाय अपनाएर निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनबमोजिम बेलौरी वितरण केन्द्रले प्राधिकरणका विभिन्न कार्यालयमा रहेका ट्रान्सफर्मर तथा अन्य आवश्यक उपकरण व्यवस्थापन गरी बाँकी काम तीव्र गतिमा सम्पन्न गरेको हो । आवश्यक जडान तथा परीक्षण कार्य पूरा भएपछि सबस्टेशन नियमित सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
बेलौरी वितरण केन्द्रको व्यवस्थापनमा रहने उक्त सबस्टेशनले पुनर्वास क्षेत्रका उपभोक्तालाई थप भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न मद्दत गर्ने जनाएको छ ।
सुदूरपश्चिम प्रादेशिक कार्यालयको समन्वय र पहलमा सम्पन्न यस आयोजनाले बेलौरी वितरण केन्द्रअन्तर्गतका हजारौँ ग्राहकलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ । साथै, विद्युत् आपूर्तिको गुणस्तर अभिवृद्धि हुनुका साथै भविष्यमा बढ्ने विद्युत् मागलाई समेत प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।
प्राधिकरणले नयाँ सबस्टेशन सञ्चालनमा आएपछि पुनर्वास क्षेत्रको विद्युत् वितरण प्रणाली अझ मजबुत, स्थिर र विश्वसनीय बनेको जनाएको छ ।




















प्रतिक्रिया