Logo

मनोरञ्जन

अध्यक्ष पद फुत्किएसँगै रविकी पत्नीले दिइन ३ महिनाको तलब



कम्युनिस्ट सरकारले स्पष्टीकरण सोधेपछि नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् ।

सञ्चारकर्मी रवि लामिछानेकी पत्नी समेत रहेकी पौडेलले माघ २३ गतेबाट लागू हुनेगरी सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटासमक्ष राजीनामा पेश गरेकी हुन् ।

पौडेलले आफ्नो राजीनामाका बारेमा फेसबुकमार्फत जानकारी गराएकी हुन् । उनले मंगलबार फेसबुकमा राजीनाको पत्र राखेकी छिन् ।

‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ’, उनले फेसबुकमा लेखेकी छन् । पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् ।

गत आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए । सोही कारणले कारबाहीमा पर्नुभन्दा अगाडि राजीनामा दिएकी छिन् ।

उनले नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलब बापतको रकम मेरा श्रीमान रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिने बताएकी छिन् ।

‘योसँगै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु’, उनले भनेकी छिन्, ‘चलचित्र बिकास बोर्डको अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि, मेरो नाभीसँगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितका लागि म सदैव क्रियाशील रहिरहनेछु ।’

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  १ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।