काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ।
एमाले महासचिव शङ्कर पोखरेलले कार्यदल संयोजक असिम शाहलाई बिहीबार पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा.भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी गराएका हुन् ।
कार्यदलको सुरुका बैठकमा अधिकारी सहभागी भए पनि पछिल्ला दिनमा सहभागी हुन छाडेका थिए ।
कार्यदलको सुरुदेखिकै कामकारबाही सन्देहास्पद रहेको, संविधान संशोधनका विषय स्पष्ट रूपमा किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको एमालेको निष्कर्ष छ ।
एमालेले यी विषयमा सरकारसँग स्पष्ट धारणा माग गरे पनि हालसम्म कुनै जवाफ प्राप्त नभएको जनाएको छ । साथै, वर्तमान संविधानका आधारभूत विशेषतालाई थप सुदृढ बनाउने र कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले मात्र संविधान संशोधन हुनुपर्ने पार्टीको अडान रहेको उल्लेख गरिएको छ ।
सरकारबाट आफ्नो प्रस्तावबारे स्पष्ट जवाफ नआएकाले एमालेले कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाउने निर्णय गरेको जनाएको छ ।





















प्रतिक्रिया