Logo

प्रमुख समाचार

नैनसिंह पक्राउ परेपछि नेविसंघको विरोध, माघ २५ गते सरकारी सवारी साधन चल्न नदिने



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष नैनसिंह महरलगायतका विद्यार्थी नेताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ ।नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर अध्यक्ष महरसहित पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल विना सर्त रिहाइ गर्न माग गरेका हुन् ।

पोखरामा झुटा मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुको बिनासर्त रिहाइको माग गर्दै निकालिएको र्यालीबाट अध्यक्ष महर, उपाध्यक्ष नवीन राई, विद्यार्थी नेताहरु डम्मर सुनार, शंकर खड्का, सरोज तिमिल्सेना, निराजन नेपाल, सञ्जिव ढकाल, सागर पाण्डे, हृदयराज मिश्र, सुनिल सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी पक्राउलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको थियो ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेको अवस्थामा पक्राउ परेका विद्यार्थी नेताहरुलाई नेपाल पुलिस क्लब र गौसालामा राखिएको नेविसंघले जनाएको छ । शान्तिपूर्ण आन्दोलन गर्न पाउने लोकतान्त्रिक अधिकारविरुद्ध ओली सरकारले विद्यार्थी नेताहरु पक्राउ गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।

महामन्त्री काफ्लेद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने र आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिइएको छ ।

त्यस्तै नेविसंघले घोषणा गरेको कार्यक्रम अन्तर्गत पोखरामा पक्राउ परेका विद्यार्थीको रिहाइको माग राख्दै जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि धर्नामा बसेका बेला मंगलबार नै पक्राउ परेका विद्यार्थी भानु ढकाल, विधान लामछिाने, सागर सापकोटा र गोविन्द नेपालीलाई पनि विना सर्त रिहाई गर्न नेविसंघले माग गरेको छ ।

माघ १९ गते शनिबार सरकारी सवारी साधनको आवतजावतमा अवरोध पुर्याउने नेविसंघको आन्दोलनका क्रममा गाडीमा आगजनी भएपछि कास्की प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेका थियो । तर नेविसंघले उनीहरुमाथि प्रहरीले सरकारको ठाडो आदेशमा झुटा मुद्दा लगाएर फसाउन खोजेको दाबी गर्दै आन्दोलन घोषणा गरेको छ ।

आन्दोलन अन्तर्गत नेविसंघले भोली गण्डकी प्रदेशमा सरकारी सवारी साधना चल्न नदिने, माघ २४ गते पोखरामा बृहत् सभा गर्ने र माघ २५ गते देशभर सरकारी सवारी साधन चल्न नदिने घोषणा गरेको छ ।

शनिबार नेविसंघको केन्द्रको निर्देशन भन्दे सरकारी गाडीमाथि आगजनी गरेको नेविसंघमाथि गगन थापाले आपत्ति जनाएका थिए । कांग्रेसको देशव्यापी आन्दोलनमा सहभागी हुन पोखरा पुगेका नेता थापालाई नेविसंघका असन्तुष्ट कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  २ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।