काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि निरन्तरता दिने भएको छ।
कम्पनीका अनुसार भदौ २० देखि भदौ २६ गतेसम्म प्रभावित क्षेत्रमा एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। सहज सञ्चारसँगै खोज तथा उद्धार र राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क सेवा विस्तार गरिएको एनसेलले जनाएको छ।
बाढी आएलगत्तै भदौ १० गते एनसेलले प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि अवधि सात दिन थप गर्दै भदौ १९ गतेसम्म पुर्याइएको थियो।
‘यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः सात दिन थप गर्ने निर्णय गरेका हौं,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपद्का समयमा हाम्रो यो सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं।’
२७ मध्ये २५ टावर सञ्चालनमा
एनसेलका अनुसार भोटेकोशी बाढीका कारण उसका २७ वटा टावर अवरुद्ध भएका थिए। तीमध्ये २५ वटा टावर पुनः सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ। पछिल्लो पटक नुवाकोटको त्रिशूलीमा रहेको २५औं टावर पुनः सञ्चालनमा आएको हो।
रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर भने बाढीका कारण पूर्ण रूपमा नष्ट भएको एनसेलले जनाएको छ। त्यस्तै रसुवाकै उत्तरगया, तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पुर्याएर सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
बाँकी टावरहरू पनि यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको एनसेलको भनाइ छ।
विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्न तथा खोज, उद्धार, राहत र जनचेतनामूलक कार्यमा सहयोग गर्दै आएको एनसेलले जनाएको छ। सम्बन्धित निकायबाट जारी हुने सूचनामूलक सन्देशहरू एसएमएस, कल टोन तथा सामाजिक सञ्जालमार्फत समेत प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ।
बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत १ करोड रुपैयाँ सहयोग गरेको थियो।
















प्रतिक्रिया