Logo

पर्यटन

बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य



काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रले सहकार्य र समन्वय गर्दै अघि बढ्ने भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी)को आयोजनामा बिहीबार नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रका २५ भन्दा बढी संघसंस्थाका प्रतिनिधिको संयुक्त बैठक बसेको थियो। बैठकले पर्यटन पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।

बैठकमा क्यूआरटी संयोजक धमलाले संकटको अवस्थालाई अवसरमा बदल्दै सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए। उनका अनुसार पछिल्लो एक सातादेखि मन्त्रालय र निजी क्षेत्रबीचको समन्वय प्रभावकारी बनेको छ। मन्त्रीस्तरबाटै पर्यटन क्षेत्रका समस्या तत्काल समाधान गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।

धमलाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा जोखिमपूर्ण गन्तव्यका रूपमा हेरिने अवस्था हटाउन विश्व पर्यटन संगठनलगायत अन्तर्राष्ट्रिय निकायमा थप पहल गरिने बताए। पुनरुत्थान अभियानको प्रमुख आकर्षणका रूपमा लाङटाङ क्षेत्रलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

भूकम्पपछि बन्द रहेको लाङटाङ पदमार्ग तथा पर्यटकीय क्षेत्र पुनः सञ्चालनमा ल्याउँदा नेपाल सुरक्षित रहेको र नेपालीहरू संकटसँग जुध्न सक्षम छन् भन्ने सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने उनको भनाइ थियो।

बैठकले बाढीबाट प्रभावित जिल्लाका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन सेवा प्रदायकको क्षतिको यथार्थ विवरण संकलन गर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले प्रयोग गरिरहेको क्षति विवरण संकलन फारमलाई आवश्यकताअनुसार परिमार्जन गरिने भएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिजम रिकभरी साइकल’ तयार गर्ने विषयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय भएको छ।

लाङटाङ क्षेत्रमा चालु याममै पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलीब्रिज निर्माणका लागि सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

बाढी प्रभावित क्षेत्रबाहेक मुलुकका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा बैठकले जोड दिएको नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले बताए।

नेपालको पर्यटन अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन, पाटा लगायत अन्तर्राष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।

नेपालमा कार्यरत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गरी पर्यटन क्षेत्रको वास्तविक अवस्था सार्वजनिक गर्ने पहलसमेत गरिने भएको छ।

बैठकमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, हिमालय उद्धार संघ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स, एक्सपिडिसन एसोसिएसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी संघ, नेपाल पर्यटक बस व्यवसायी संघ, कैलाश अपरेटर संघ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटरका प्रतिनिधिको सहभागिता थियो।

 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार २१:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।