काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वैधानिक संरचनामै युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन्।
४४औँ बीपी स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिताको व्यवस्था गरिएको जानकारी दिए।
त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने प्रावधान पनि राखिएको उनले बताए।
थापाका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या २५ बाट बढाएर ३१ पुर्याइएको छ।
थप गरिएका प्रतिनिधिमध्ये युवालाई प्राथमिकता दिइएको उनले उल्लेख गरे। केन्द्रीय समितिमा पनि नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो।
‘पार्टीमा नयाँ पुस्तालाई अवसर दिनु आवश्यक छ। त्यससँगै लामो समयदेखि योगदान गरेका पुराना नेताहरूको सम्मान पनि सँगसँगै हुनुपर्छ,’ उनले भने।
कांग्रेसमा अहिले चार पुस्ताका नेता–कार्यकर्ता एकैसाथ सक्रिय रहेको उल्लेख गर्दै थापाले सबै पुस्ताबीच समन्वय कायम गर्ने साझा राजनीतिक शक्ति बन्नुपर्ने आवश्यकता औंल्याए।
उनले कांग्रेसले देशभरका सबै जातजाति, भाषा र समुदायलाई जोड्ने भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अब सबै पुस्तालाई पनि एकै सूत्रमा बाँध्ने पार्टीका रूपमा स्थापित हुनुपर्ने बताए।




















प्रतिक्रिया