Logo

प्रमुख समाचार

भेनेजुएला प्रकरणबारे प्रचण्डको गल्तीको प्वाल टाल्दा ओलीलाई हैरान



भेनेजुएलाको स्वतन्त्रताबारे हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिकालाई चेतावनी दिने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेस विज्ञप्तिले अहिले सरकार नै धर्मसंकटमा परेको छ ।विचारै नगरी दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले प्रेस विज्ञप्ति जारी गरेपछि अहिले मुलुकमाथि नै संकट आउन सक्ने विश्लेषण हुन थालेका छन् ।

परराष्ट्रविद्हरु अमेरिकाजस्तो सहयोगी राष्ट्रमाथि आक्षेप लगाउनुअघि धेरै पटक सोच्नुपर्ने बताउँछन् ।आफ्नोबारेमा बोल्दा चुप लाग्ने तर अर्काको मुलुकबारे बोल्दा विज्ञप्ति निकाल्न हतार हुने प्रचण्ड प्रचण्ड प्रवृत्तिको पनि आलोचना भइरहेको छ ।नेकपाको सचिवालय बैठकदेखि विभिन्न छलफलमा प्रचण्डको गल्ती ढाकछोप गर्ने प्रयास भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ढाकछोप गर्दागर्दा हैरान भइसकेको बताउन थालेको उनका एक निकट नेताले बताएका छन् ।ओली स्वीटजरल्याण्डबाट नेपाल फर्किने क्रममा रहेका बेलामा प्रचण्डले विज्ञप्ति निकालेका थिए । ओलीले आफू नेपालमा भएको भए त्यो बेला प्रचण्डलाई विज्ञप्ति निकाल्न रोक्ने पनि बताएका थिए ।

यही चेतावनीयुक्त विज्ञप्तिले गर्दा अमेरिका रुष्ट भएको छ । अमेरिकी राजदूत र्यान्डी बेरीलाई ओलीले स्पष्टिकरण नै दिनु परेको छ । ओलीले आफ्ना अध्यक्षको विज्ञप्तिमा शब्द चिप्लिएको बताएका छन् । उनले अमेरिकालाई विज्ञप्तिले खासै फरक पर्न नहुने सन्देश बाहिर ल्याउन खोजिए पनि त्यसको असर दिनानुदिन परिरहेको छ ।

ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै प्रचण्डको शब्द चिप्लिएको भनी तर्क गरेको बताइन्छ । ओलीलाई बालुवाटार आएर अमेरिकी राजदूत बेरीले गत सोमबार भेटेर सरकारको बोली लिएका थिए ।

ट्रम्पले नेपाल र भुटान भारतमा पर्ने भनी अमेरिकी सुरक्षा बैठकमा जनाएका थिए । उनको बोलीको विरोध गर्न नसकेको ओली सरकार र प्रचण्डको पार्टीले भेनेजुएलाका बारेमा बोलेर भने थाकेको छैन ।

गल्तीको प्वाल टाल्दा हैरान

पहिलो पटक ओलीले प्रचण्डको शब्द चिप्लिएको बताएका छन् । यसअघि शब्दको समेत उनले जिकिर गरेका थिएनन् । अरु कुनै पनि नेकपाका नेताहरुले प्रचण्डबाट गल्ती भएको जिकिर गरेका छैनन् । जे गरे प्रचण्डले सही गरे भनिरहेका छन् । तर नेकपाको पार्टीभित्र एकता हुनलाई समेत अहिले समस्या देखिएको छ । कार्यदलले प्रतिवेदन बुझाउन सकिरहेको छैन ।

आपसमा नेताहरुबीच बाझाबाझ भइरहेको छ । प्रचण्डले भेनेजुएला बारेमा विज्ञप्ति निकालेपछि नेकपाको गल्ती ढाकछोप गर्दा नै समय बितिरहेको छ । गल्तीको प्वाल टाल्दाटाल्दै हैरान भएको छ नेकपा । पहिलो पटक ओलीले शब्द चिप्लिएको भनेका छन् । त्यसबाहेक कसैले पनि गल्ती भयो भनिरहेका छैनन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डले बोलेको र सरकारले निकालेको विज्ञप्तिमा कुनै गल्ती नभएको भन्दै आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईलाई प्रयोग गरिरहेका छन् । र पनि अब नेकपालाई विश्वास गर्ने वातारण रहेन भन्ने राजनीतिक वृत्तमा देखिएको छ । यसले कतै मुलुकलाई अप्ठेरो नपरोस् भन्ने चिन्ता गरिएको छ ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ५ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।