Logo

प्रमुख समाचार

नेविसंघको विवादमा अल्मलियो काँग्रेस,शीर्ष तहमै लफडा



कांग्रेस केन्द्रीय समिति बैठकमा नेविसंघको विषयमा विवाद देखिएको छ। बुधबार बसेको काँग्रेस कार्यसमिति बैठकमा नेविसंघको विषयलाई लिएर शीर्ष तहमा मत बाझिएको हो।

दुई पटक म्याद थपिएको र पछिल्लो म्याद माघ २ मा नै गुज्रिएपछि नेविसंघलाई कसरी अगाडि बढाउने सकिन्छ भन्दै छलफल भएको थियो। म्याद सकिएपछि पनि नेविसंघलाई दैनिक कार्यसञ्चालन गराइराख्न पार्टीले निर्देशन दिएपछि मतभेद चुलिएको हो।

बुधबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघमा नयाँ तदर्थ समिति बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तदर्थ समितिकै पक्षमा देखिए। तर उनी हालका अध्यक्ष नैनसिंह महरसँग पराजित आफ्नो पक्षका नेतालाई त्यसको जिम्मा दिनुपर्नेमा अडिग छन्। अहिलेकै कार्यसमितिलाई म्याद थपेर महाधिवेशन गराउनुपर्नेमा नेता कृष्णप्रसाद सिटौला छन्।

कांग्रेस बैठकमा नेविसंघबारे छलफल भए पनि कुनै ठोस निर्णयमा पार्टी नपुगेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। बैठकले २१ माघमा कांग्रेसले सरकारविरुद्ध गरेको देशव्यापी प्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ। पोखरामा नेविसंघका केही नेतामाथि सरकारले मुद्दा चलाएको घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल मुद्दा फिर्ता लिन पनि सरकारसँग माग गरेको छ।

धनुषाको खरियानीमा उमेश कापरीमाथि नेकपाका स्थानीय नेताले गरेको सांघातिक हमलाको विरोध गरिएको छ। साथै घटनामा संलग्नलाई कारबाही हुनुपर्ने कांग्रेसको माग छ। बैठक बिहीबार ११ बजे पुनः बस्दै छ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ७ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।