Logo

प्रमुख समाचार

नेकपा एकता भद्रगोल : कार्यदलमा विवादपछि बहुमत सदस्यले हस्ताक्षर गरेनन्



संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मा पाएको नेकपाको कार्यदलमा विवाद भएको छ । बिहीबार बसेको बैठमा संयोजक रामबहादुर थापा ‘बादल’ले प्रस्तुत गरेको प्रस्तावलाई सदस्यहरुले अस्वीकार मात्र गरेनन् हस्ताक्षर समेत नगरेर हिँडेका छन् ।

असन्तुष्ट सदस्यहरुले उनीहरूले छुट्टै प्रतिवेदन तयार गरेर स्थायी समिति बैठकमा पेस गर्ने चेतावनी समेत दिएका छन् । कार्यदलमा रहेका बहुमत ५ सदस्यले फरक प्रतिवेदन बुझाउने बताएपछि संयोजक थापा बैठकमा अल्पमतमा परेका छन् । योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुषाल, वर्षमान पुन र लेखराज भट्टले छुट्टै प्रतिवेदन स्थायी समितिमा पेस गर्ने बताएका हुन् ।

थापाले पार्टीको सचिवालयमा भएर गरेको कामको विवरण समेटेर प्रतिवेदन पठाउन सिफारिस गरेका थिए । तर, उनको प्रस्तावलाई कार्यदल सदस्यहरूले अस्वीकृत गरिदिएका हुन् ।

थापाले बैठकमा तीन पेजको खेस्रा समेत पेस गरेका थिए । तर कार्यदल सदस्य वर्षमान पुनले थापाको प्रस्ताव अस्वीकार गरे । कार्यदल असफल भयो भन्ने म्यासेज दिन खोजिएको भन्दै पुनले असन्तुष्टि जनाएका हुन् । पुन लगत्तै बैठकमा बोलेका सुरेन्द्र पाण्डे, योगेश भट्टराईले छुट्टै प्रतिवेदन बुझाउने चेतावनी दिएका थिए । संयोजक थापालाई महासचिव विष्णु पौडेलले समर्थन गरेका थिए । कार्यदलमा रहेका शंकर पोखरेल रघुवीर महासेठ बैठकमा अनुपस्थित भएका थिए ।

यसअघि गत माघ ७ गते बसेको कार्यदल बैठकमा विधान संशोधनको विषयमा सहमति जुटेको थियो । तर प्रदेश कमिटीमा रहेका सदस्यहरूको हेरफेर गर्न सक्ने कि नसक्ने भन्ने विषयमा विवाद भएको थियो ।

नेकपाको स्थायी समितिले गत पुस १३ गते पन्ध्र दिनभित्र पार्टी एकताको संगठनात्मक प्रस्ताव तयार गर्न तथा प्रदेश कमिटीको असंगति मिलाउने गरी प्रस्ताव ल्याउन कार्यदल गठन गरेको थियो । माघ ७ गतेपछि एकैपटक आज बैठक बसेको हो ।

कार्यदलमा सहमति नजुटेपछि नेकपाको एकता प्रक्रिया लम्बिने देखिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएको थियो ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  २ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।