Logo

प्रमुख समाचार

‘सातै प्रदेशमा तीन दलको सरकार बनाउनु शतप्रतिशत गल्ती हुन्थ्यो, कांग्रेस त्यसमा सहमत भएन’ : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमाले र नेकपाबीच प्रदेश सरकार गठनका लागि भएको सहमतिप्रति कांग्रेसको कुनै नकारात्मक धारणा नरहेको बताएका छन्। तर, सातै प्रदेशमा कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउने प्रस्तावमा पार्टी सहमत नभएको उनले स्पष्ट पारेका छन्।

शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले एमाले–नेकपा सहमति राजनीतिक रूपमा स्वाभाविक प्रक्रिया भएको बताए। तर, प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने गरी सबै प्रदेशमा एउटै सत्ता समीकरण बनाउनु लोकतान्त्रिक अभ्यासका दृष्टिले उचित नहुने उनको भनाइ छ।

उनले कांग्रेस, एमाले र माओवादी केन्द्र शान्ति प्रक्रिया र संविधान निर्माणका सहयात्री दल भएकाले संविधान संशोधनलगायत राष्ट्रिय महत्वका विषयमा सहकार्य आवश्यक हुन सक्ने बताए। तर, त्यसलाई आधार बनाएर सातै प्रदेशमा एउटै गठबन्धन बनाएर प्रतिपक्षको भूमिका समाप्त पार्नु गलत हुने उनको तर्क छ।

‘शतप्रतिशत गल्ती गर्न हामी एक प्रतिशत पनि सहमत भएनौं,’ शर्माले भनेका छन्।
उनका अनुसार यस विषयमा कांग्रेसभित्र पनि स्पष्ट र एकमत धारणा बनेको छ।

सभापति, उपसभापति, महामन्त्री, कांग्रेसका चार मुख्यमन्त्री तथा प्रदेश सभापतिहरू सहभागी बैठकले प्रदेशमा प्रतिपक्षविहीन अवस्था सिर्जना नगर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए।

शर्माले सत्ता प्राप्तिका लागि जस्तोसुकै सम्झौता गर्ने प्रवृत्तिको कांग्रेसले समर्थन नगर्ने पनि बताएका छन्। ‘सत्ता, सत्ता र सत्ता—जसरी पनि सत्ता भन्ने गलत राजनीतिक संस्कृतिविरुद्ध कांग्रेस फरक सन्देशका साथ उभिएको छ,’ उनले उल्लेख गरेका छन्।
उनले आइतबार प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग हुने बैठकपछि पार्टीले यस विषयमा थप औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार २१:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।