Logo

प्रमुख समाचार

एमाले–नेकपाबीच प्रदेश सरकारमा सहकार्यको सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन र सञ्चालनमा सहकार्य गर्ने सहमति भएको छ। दुवै दलका शीर्ष नेताले शनिबार तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सातै प्रदेशमा संयुक्त सरकार गठनका लागि सहकार्य गर्ने निर्णय गरेका हुन्।

सहमतिपत्रमा विगतमा प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेट विनियोजनमा देखिएको असन्तुलन तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रदेश विकासलाई गति दिने उद्देश्यले सहकार्य गरिएको उल्लेख छ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ।

मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। सहमतिपत्रको मिति २०८३ साउन ९ गते उल्लेख गरिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार २१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।