Logo

प्रमुख समाचार

कांग्रेस कार्यसमिति बैठकमा देउवाले बोल्दा सबैको हाँसो !



नेपाली कांग्रेसभित्र धर्मनिरपेक्षताको ‘ठेकेदार’का रूपमा समेत चिनिने उपसभापति विमलेन्द्र निधिले आफूद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनबाट एउटा शब्द हटाउन तयार भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको माघ २३ गतेदेखि पुनः शुरु भएको बैठकमा युवा नेता शंकर भण्डारीले नेपाली कांग्रेस हिन्दू राष्ट्रको पक्षमा आउनुपर्छ भन्दै निधिद्वारा महासमितिमा प्रस्तुत राजनीतिक प्रतिवेदनबाट धर्मनिरपेक्षता हटाउनुपर्ने विचार व्यक्त गरेका थिए ।

नेता भण्डारीले महासमितिका साढे सात सय सदस्यले दस्तखत गरी बुझाएको निवेदनमा छलफल गरी निर्णय लिन पनि माग गरेका थिए ।बुधबारको बैठकमा शंकर भण्डारीले यसरी माग गरेपछि जवाफ दिँदै विमलेन्द्र निधिले ‘म आफ्नो प्रतिवेदनबाट ‘विशिष्ट’ भन्ने शब्द हटाउँछु ।

धर्मनिरपेक्षता विशिष्ट उपलब्धि भनिएको छ, म विशिष्ट शब्द हटाइदिन्छु, तर संविधानले एउटा महान उपलब्धिका रूपमा समेटेको हुनाले धर्मनिरपेक्षताचाहिँ हटाइँदैन ।’ यसरी निधिले ‘विशिष्ट’ शब्द हटाइदिन्छु भनेपछि अर्का युवा नेता एनपी साउदले ‘लौ शंकरजीको माग पूरा भयो’ भनी व्यंग्यात्मक टिप्पणी गरेका थिए ।

एनपी साउदले शंकरजीको माग पूरा भयो भन्नेबित्तिकै सभापति शेरबहादुर देउवाले हतारहतार प्रतिवाद गर्दै भने, ‘छैन–छैन, कहाँ पूरा भएको छ शंकरको माग ? पूरा भएको छैन ।’ देउवाको कुरा सुनेर बैठकका सबै सहभागीहरू हाँसेका थिए ।

देउवाले शंकर भण्डारीको माग पूरा भएको छैन भन्नुको मतलब माग पूरा हुन बाँकी छ भनेका हुन् या माग पूरा गर्नुहुँदैन भन्ने अर्थमा त्यसो भनेका हुन् सो भने प्रस्ट हुन सकेको छैन ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ४ : ४९ बजे