Logo

प्रमुख समाचार

कांग्रेस बैठक : नेविसङ्घको तदर्थ कार्यसमिति बनाउने तयारी



प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा नेपाल विद्यार्थी सङ्घको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वा्चित भएको थियो ।

यस परिस्थितिमा सङ्घको कार्यसमिति सम्बन्धमा यथावत अवस्थामै समावधि बढाउने वा अर्को समिति बनाउने बारेमा छलफल जारी रहेको जानकारी गराउँदै प्रवक्ता शर्माले भने,“यस सम्बन्धमा शुक्रबारसम्म टुङ्गो लाग्न सक्छ ।”

काङ्ग्रेस बैठकमा अधिकांश सदस्यले सङ्घको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको र सोहीअनुसार तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सङ्घको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था छ । सो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने उनको तर्क छ ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ६ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।