Logo

प्रमुख समाचार

प्रचण्डले ओलीलाई दिए यस्तो जवाफ, पूर्व माओवादीका नेता कार्यकर्ता भए खुसी



भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपबिरुद्ध प्रचण्डले निकालेको विज्ञप्तिका कारण सत्तारुढ दलभित्र व्यापक खैलाबैला भएको छ । प्रचण्डले भेनेजुएला प्रकरणमा चिप्लिएर अमेरिकाबिरुद्ध विज्ञप्ति निकालेको भन्दै प्रधनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सार्वजनिक टिप्पणी गरेपछि बिहिबार प्रचण्डले पनि ओलीलाई सार्वजनिकरुपमै जवाफ दिएका छन ।

पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको बताएका छन् । पार्टी सचिवालयले समेत विज्ञप्तिको भावनाअनुसार वक्तव्य जारी गरेको भन्दै प्रचण्डले व्यक्तिको भनाइको अर्थ नहुने टिप्पणी गरे ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन गरेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित अमेरिकी राजदूतसँगको भेटमा अध्यक्ष प्रचण्डको ‘शब्द चिप्लिए’को बताएका थिए ।

प्रधानमन्त्री ओलीले साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै ओलीले आफू नेपालमा नभएका बेला वक्तव्य आएकाले विवाद आएको बताएका थिए । उनी स्विजरल्याण्डमा भएको बेलामा प्रचण्डले जारी गरेको वक्तव्यका कारण नेपाल र अमेरिकाको सम्बन्ध विवादमा आइरहेको सम्बन्धमा प्रधानमन्त्रीले आफ्नो धारणा त्यसरी राखेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सुस्पष्ट नीति छन् । त्यसमा ‘स्लिप’ भएकै हो । तर, त्यसैमा अल्झिनु आवश्यक छैन । म भोलिपल्ट आउँदै थिएँ अघिल्लै दिन वक्तव्य नदिइ नहुने कारण परेको थिएन । त्यस्तो जरुरी थिएन । उपयुक्त भाषा पनि थिएन । एकजना साथीले दिएको वक्तव्यमा देशको सम्बन्धको सुरुवात र अन्त्य हुने होइन,’ उनले प्रचण्डको नामै नलिइ भने ।

उनले अमेरिका जस्तो देशले त्यस्तो सानोतिनो कुरामा अल्झिन नहुने उल्लेख गर्दै कहिलेकाहीँ ‘स्लिप’ हुन सक्ने जनाए । प्रधानमन्त्रीले घटनाक्रम कहिलेकाहीँ त्यस्तो हुन सक्ने जनाउँदै त्यसमा युद्धको घोषणा त गरिएको छैन समेत भनेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘अमेरिका त्यत्रो ठूलो देश हो । विशाल देश हो । सबल देश हो । सानो चिजलाई छुँदा प्राण नै जान सक्ने ससाना जीवपनि हुन्छन् । विशाल जनावरको टाउकोमा केही बसेमा उसले थाहा पनि पाउँदैन । अलिकति आफ्नो नाम लिएर बोलेको प्रसंगमा अमेरिकालाई चित्त दुखेको होला । हाम्रो जस्तो देशलाई अर्को देशको अंग भन्यो भने त झन् चित्त दुखाउने कुरा होइन र ? त्यसैले साना कुरामा ठूला देशका पनि कुरा ‘स्लिप’ हुन सक्छन् । त्यसैले हाम्रा कुरा स्पष्ट छन् भनेर अझै स्पष्ट पारेका छौं । सम्बन्ध सप्रिएकै छ, सप्रिँदै जानेछ ।’

तर प्रचण्डले भने प्रधानमन्त्रीले कुन सन्दर्भमा कसरी त्यो विषयमा बोले आफुलाई थाहा नभएको भन्दै भेनेजुएला प्रकरणमा जारी वक्तव्य राजनीतिक भएको र स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रमा कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको जिकिर गरे । ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो, मैले आफैंले हेरेको, बुझेको छैन,’ उनले आफ्नो वक्तव्यको औचित्य प्रष्ट्याउँदै भने, ‘त्यो वक्तव्य एउटा पोलिटिकल वक्तव्य थियो, एउटा स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्य थियो ।’

परराष्ट्र मन्त्रालयबाट जारी वक्तव्य पनि त्यही रुपबाट आएको उनको भनाइ थियो । प्रधानमन्त्रीसमेत उपस्थित सचिवालयको बैठकले हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरिसकेकाले व्यक्तिको भनाइले केही अर्थ नराख्ने उनको भनाइ थियो । पार्टीको तर्फबाट जे वक्तव्य आयो, त्यही नै सही भन्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियाका विषयमा पश्चिमा राष्ट्रहरूको संयुक्त वक्तव्य नेपाल मामिलामा हस्तक्षेपको रूपमा लिएको बताए ।

प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार  ५ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।