विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेश सरकारले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दलका नेताहरूले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकार थप सक्रिय हुनुपर्ने बताएका छन् ।
छलफलपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले घटनालाई साम्य बनाउन सरकारले अधिकतम प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए । ‘सरकारले आफ्नो तरिकाले अवस्था साम्य बनाइरहेका छौं भने पनि हामीले त्यो देखिरहेका छैनौं,’ उनले भने ।
थापाले नेपाल बहुजातीय र बहुसामुदायिक मुलुक भएकाले आन्दोलनका क्रममा सक्रिय देखिएका समूह कहाँबाट परिचालित भए भन्ने विषय पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।
यस्तै, नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकारले घटनाप्रति देखाएको चासोलाई सकारात्मक रूपमा लिएको बताए ।
उनले जेनजी आन्दोलनपछि प्रहरीको मनोबल कमजोर बनेको टिप्पणी गर्दै दंगा नियन्त्रणका क्रममा पनि सुरक्षाकर्मीले आवश्यक निर्णय लिन हिच्किचाउने अवस्था देखिएको बताए ।
‘जेनजी आन्दोलनपछि प्रहरीको मनोबल गिरेको मैले पनि पाएको छु । दंगा नियन्त्रण गर्दा पनि प्रहरीले हतियार प्रयोग गर्न हिच्किचाउनुपर्ने अवस्था देखिएको छ ।’ भण्डारीले भने ।
यसैबीच, सर्वदलीय बैठकले देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको परिवारलाई कोशी प्रदेश सरकारले दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । साथै आगजनीबाट प्रभावित परिवार तथा घाइतेलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा सुदृढीकरणका लागि आठबुँदे निर्णयसमेत पारित गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै उनले संवेदनशील परिस्थितिमा सबै राजनीतिक दल, सामाजिक संस्था र नागरिकले संयमता अपनाउँदै सामाजिक सद्भाव जोगाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।




















प्रतिक्रिया