Logo

प्रमुख समाचार

‘ओली–प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो’



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारे । उनले भने,‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने,‘नेपालस्थित् अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ। राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

२५ गतेको संसद बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ : देवेन्द्र पौडेल

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिईसहेको खुलासा गरे । उनले भने,‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’

पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । उनले भने,‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ। अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भिर कुराकानी भएको पनि पौडेलले जनाए । उनले भने,‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरुबीच सहमति भएको छ । पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भिर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु।’

फरक प्रसँगमा उनले पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरु ख्याल गर्नुपर्नेमा जोड दिए । उनले भने,‘शब्दहरुको ख्याल पुर्याउनुपर्छ । अरु कुनैपनि राष्ट्रलाई चिढ्याउनुहुँदैन् ।’

उनले नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुँगो लगाउने काम गरिरहेको सुनाए । तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु र केही संघ/संस्थाहरुले यो विषयलाई उचाल्ने काम गरेको उनको आरोप छ । उनले भने,‘संघ/संस्थाहरु भनेर मैले कांग्रेसलाई भन्न खोजेको होईन । कांग्रेस त शान्ति प्रक्रिया टुँगो लगाउन दृढ छ । हामी सबै मिलेर कोशिस गरिरहेका छौं ।’

नेता पौडेलले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्न लागेको सुनाउँदै यो एक वर्षको कार्यकाल हेर्दा सरकार सापेक्षित रुपमा सफल भएको दाबी गरे । उनले भने,‘सरकारको एक वर्ष सापेक्षित रुपमा सफल छ । तर, उत्साहजनक छैन् ।’

यद्धपी उनले सरकारले गम्भिर गल्ती नै भने नगरेको जिकिर गरे । उनले थपे,‘सरकारले यो अवधिमा केही कामहरु गर्न प्रयत्न गरेको छ । त्यही भएर असफल नै भनेर भन्न मिल्दैन् । दुई तिहाईको सरकार छ । त्यही भएर जनताका असिमित चाहनाहरु छन् ।

ती चाहनाहरु सम्बोधन नहुँदा आलोचनाको मात्रा बढेको हो ।’पौडेलले अर्को बजेट ल्याउँदाखेरि सरकारको काम तिव्रताका साथ अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘त्यहीअनुसारको होमवर्क भैसकेका छन् ।’

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  १ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।