Logo

प्रमुख समाचार

संसद्मा ‘कालो चस्मा’ निषेध, प्रधानमन्त्री र मन्त्रीले पनि मान्नुपर्ने सभामुखको निर्देशन



काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा अब सांसदहरूले कालो चस्मा लगाएर उपस्थित हुन नपाउने भएका छन् । संसद्को गरिमा, मर्यादा र औपचारिकता कायम राख्ने भन्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालले यस्तो अभ्यास रोक्न निर्देशन दिनुभएको हो ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसद् बैठकमा सांसदहरू कालो चस्मा लगाएर उपस्थित हुने विषयमा बारम्बार प्रश्न उठ्ने गरेको भन्दै अबदेखि यस्तो अभ्यास नगर्न निर्देशन दिनुभएको हो ।

सभामुखले प्रमुख सचेतक र सचेतकमार्फत आफ्ना दलका सांसदलाई यसबारे जानकारी गराउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री र मन्त्रीलाई पनि समान नियम लागू गर्न माग

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्सालसहित केही सांसदहरू कालो चस्मा लगाएर सहभागी हुने गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले सभामुखको निर्देशन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताउनुभएको छ ।

उहाँले बैठकमा प्रधानमन्त्री र मन्त्रीहरू पनि कालो चस्मा लगाएर आउने गरेको उल्लेख गर्दै उनीहरूलाई समेत सभामुखले निर्देशन दिनुपर्ने बताउनुभयो ।

‘कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिरहेको छ । अब सांसदहरूले संसद् बैठकमा कालो चस्मा लगाउन भएन भनेर सभामुखज्यूले जानकारी गराउनुभएको छ,’ थापाले भन्नुभयो, ‘तर प्रधानमन्त्री र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसद्मा आउने गर्नुभएको छ । उहाँहरूलाई पनि सभामुखज्यूले भन्नुपर्छ ।’

त्यसपछि सभामुख अर्यालले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारलाई सरकारका मन्त्री तथा सांसदहरूलाई समेत यसबारे जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

पोसाक र लोगोको विषय पनि उठ्यो

रास्वपाका सचेतक परियारले संसद् बैठकलाई थप मर्यादित बनाउने क्रममा कालो चस्माको विषय उठेको बताउनुभयो ।

उहाँका अनुसार सांसदहरू अनिवार्य रूपमा लोगो लगाएर उपस्थित हुनुपर्ने तथा औपचारिक र मर्यादित पोसाक प्रयोग गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

‘संसद् बैठकलाई अलि बढी मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग उठेको हो,’ परियारले भन्नुभयो, ‘सांसदहरूको पहिचान झल्किने लोगो र पोसाकको विषयमा पनि छलफल भएको छ ।’

‘संसद्को गरिमा कायम हुनुपर्छ’

विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले संसद्को गरिमा र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार सभामुखले बैठकमा सांसदहरूको व्यवहार, पोसाक तथा उपस्थितिको शैलीबारे समेत चासो व्यक्त गर्नुभएको थियो ।

‘संसद्को गरिमा र मूल्यमान्यता कायम हुनुपर्छ । विश्वका अन्य संसद्मा पनि औपचारिक पोसाकको अभ्यास छ,’ दुलालले भन्नुभयो, ‘कोट लगाउनुपर्ने, कालो चस्मा लगाएको राम्रो नदेखिने विषयमा सभामुखज्यूले कुरा राख्नुभएको हो ।’

बैठक छाडेर लबीमा बस्ने प्रवृत्तिप्रति पनि सभामुख असन्तुष्ट

कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरू बैठक चलिरहेका बेला संसद् भवनको लबीमा लामो समयसम्म बसेर कुराकानी गर्ने प्रवृत्तिप्रति समेत असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

उहाँले सांसदहरू बैठकमा उपस्थित भएर छलफलमा सक्रिय सहभागी हुनुपर्ने भन्दै संसद्को अनुशासन र मर्यादा कायम गर्न आग्रह गर्नुभएको छ ।

नियमावलीमै पोसाकसम्बन्धी व्यवस्था

प्रतिनिधिसभा नियमावलीमा सांसदहरूको पोसाक तथा प्रतीक चिह्नसम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीअनुसार सांसदहरूको पोसाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुने व्यवस्था छ ।

पोसाक निर्धारण गर्दा औपचारिकता, मौलिक संस्कृति, परम्परा तथा पहिचान झल्किने मर्यादित भेषभूषालाई ध्यान दिनुपर्ने व्यवस्था नियमावलीमा छ ।

अब प्रधानमन्त्री र मन्त्रीको व्यवहार पनि परीक्षणमा

सभामुखको निर्देशनपछि संसद्मा एउटै नियम सबैलाई समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको छ ।

विशेषगरी प्रधानमन्त्री, मन्त्री तथा सत्तारूढ दलका प्रभावशाली सांसदहरूले सभामुखको निर्देशन पालना गर्छन् कि गर्दैनन् भन्ने विषयमा चासो बढेको छ ।

संसद्को अनुशासन, पोसाक र सांसदहरूको व्यवहारबारे यसअघि पनि पटक–पटक बहस हुँदै आएको थियो । तर यसपटक कालो चस्माको विषय नै कार्यव्यवस्था परामर्श समितिको बैठकमा औपचारिक रूपमा उठेपछि संसद्मा मर्यादा कायम गर्ने सभामुखको निर्देशन कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने प्रश्नसमेत महत्वपूर्ण बनेको छ ।

अब हेर्न बाँकी छ– संसद्मा नियम सांसदका लागि मात्रै लागू हुन्छ कि प्रधानमन्त्री र मन्त्रीका लागि पनि उस्तै हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार ११:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।