Logo

प्रमुख समाचार

मधेशमा नागरिकताको समस्या ‘प्रचण्ड’ले सदाका लागि अन्त्य गर्ने !



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा आज स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दैै पूर्वप्रधानमन्त्री दाहालले भने, ‘नागरिकताको समस्या विगतमा जसरी थियो, अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको र समितिमा गम्भीर छलफल हुँदैछ, तपाईंहरु ढुक्क हुनुस् अब नागरिकताको समस्या मधेशको समस्याका रुपमा रहँदैन ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारको आएको उल्लेख गर्दै उहाँले संविधानलाई आवश्यक संशोधन गरेर मधेशी र जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुल्ला रहेकोले संविधानमा आवश्यक संशोधन हुने बताए ।

तराई मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै विषय समेटेर करीब दुई अर्बको विशेष प्याकेज ल्याउन लागेको छ, त्यसबाट मधेशले ठूलो फड्को मार्ने उहाँको दाबी थियो ।

‘मधेशको विकास बिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्री र मेरो बीचमा गम्भीर छलफल भएको छ’, अध्यक्ष दाहालले भने, ‘यसबारेमा हामी स्पष्ट छौँ, त्यो कुरा यो सरकार र नेकपाले मात्र पूरा गर्न सक्छ भन्नेमा विश्वस्त छौँ ।’

मुलुकबाट बेरोजगारी समस्या अन्त्यका लागि सरकार र आफ्नो पार्टीले ध्यान केन्द्रित गरेको बताउँदै उहाँले बेरोजगार युवालाई स्वदेशमै रोजगार दिने र रोजगार दिन नसक्नेलाई बेरोजगार भत्ता दिने सरकारले तयारी गरेको बताए । तराई मधेशमा निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कलकारखानाको स्थापनालगायत विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको उहाँले जानकारी दिए ।

सिरहा जिल्ला आँपको दृष्टिकोणले अग्रणी रहेकाले सिरहालाई आँप क्षेत्रका रुपमा विकास गर्न आफूले पहल र प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले सिरहालाई धानको सुपर जोनका रुपमा घोषणा गरी लगानी बढाउनुपर्नेमा उनले जोड दिए । अस्पताल उद्घाटन कार्यक्रममा नेकपाका २ नं प्रदेश सहइञ्चार्ज तथा पूर्वमन्त्री विश्वनाथ साह, प्रतिनिधिसभा सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्यहरु रामकुमार यादव, प्रमोद यादव, जगत यादव लगायतले तराई मधेशको विकासका लागि सरकारले छिटो विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

सो अवसरमा शहरी विकास तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख रमेश थिङले कूल रु एक करोड २१ लाख ७६ हजारको लागतमा निर्माण गरिएको जानकारी दिए । अर्नमा गाउँपालिकाका अध्यक्ष ठक्कु महतोको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दिने जग्गादाताहरुलाई अध्यक्ष दाहालले दोसल्ला ओढाएर सम्मान गरे ।

प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार  ४ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।