Logo

प्रमुख समाचार

नेविसंघको जिल्ला कार्यसमितिहरू पनि विघठन गर्न माग



नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमितिहरू पनि विघठन गर्न माग गरेका छन् ।
कांग्रेसको सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने नेताहरूले नेविसंघको केन्द्रीय कार्यसमिति विघठन भएपछि जिल्ला कार्यसमितिहरू पनि स्वतः विघठन भएको बताएका हुन् ।

नेताहरूले केन्द्रीय समिति विघटन भएपछि नेविसंघका जिल्ला कार्यसमितिलाई पनि स्वतः विघटन गर्नुपर्ने तर्क अगाडि सारेका छन् ।थप गरिएको समयमा पनि १२औँ महाधिवेशन गर्न नसकी अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् ।

महरको राजीनामा पनि स्वीकृत भएको छ । नेविसंघमा तदर्थ समिति बनाउने बाटो खुलेको छ ।अधिकांश केन्द्रीय सदस्यहरूले जिल्ला अधिवेशन गर्न नसक्ने पनि उत्तिकै दोषी रहेको भन्दै विघटन गर्न माग गरेका छन् ।

नेता रामचन्द्र पौडेल, कल्याण गुरुङ, फरमुल्लाह मन्सुर, मोहन बस्नेतसहितका नेताले जिल्ला अधिवेशन गर्न प्रभावकारी काम नगर्ने समिति पनि केन्द्र जत्तिकै दोषी रहेको धारणा राखेका छन् ।नैनसिंह महर असफल हुनुमा नेविसंघको जिल्ला कार्यसमिति पनि जिम्मेवार रहेको तर्क चल्न थालेको छ ।

महर असफल हुने तर जिल्ला कार्यसमितिहरू सहल हुने विषय जायज नरहेको कांग्रेसका नेताहरूले बताएका छन् ।कांग्रेसको केन्द्रीय कार्यसमितिमा नेविसंघको जिल्ला कार्यसमितिहरू विघठनको कुरा चले पनि सभापति शेरबहादुर देउवाले त्यस विषयमा केही बताएका छैनन् ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  ३ : ३५ बजे