Logo

प्रमुख समाचार

नेपाली कांग्रेसको उत्तराधिकारी अब गगन थापाको पुस्तामा : मीनेन्द्र रिजाल



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले आगामी १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुने बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार राजाराम गौतमसँग कुरा गर्दै नेता रिजालले आम नागरिकमा कांग्रेसप्रतिको आशा जगाउन नेतृत्व परिवर्तन अतिआवश्यक रहेको बताए। १४ औं महाधिवेशनबाट सभापति र वरिष्ठ नेताहरुलाई सम्मानपूर्वक विदाई गर्ने र युवालाई जिम्मा दिनुपर्ने उनको भनाई छ।

‘सभापतिको उमेर समूहलाई दाई पुस्ता भन्छु। दाई पुस्ता क्रियाशील राजनीतिक नेतृत्वबाट बाहिरिनुपर्छ। उहाँहरुको समय पुग्यो। अभिभावक र नीतिगत नेतृत्वमा रहनुपर्छ। गगनको पुस्तामा कांग्रेस जाँदा राम्रो हुन्छ’, उनले भने, ‘१४ औं महाधिवेशनको मुल नीति कांग्रेस नयाँ ढंगबाट जाने हुनुपर्छ। कांग्रेसमा पुनर्जीवनको आवश्यकता छ।’

युवा नेताको विषयमा आम जनताको आशा, भरोसा रहेको बताउँदै नेता रिजालले थपे, ‘गगन, गुरु घिमिरे, विश्वप्रकाश शर्मा भाइ पुस्ता हो। १४ औं महाधिवेशनबाट भाई पुस्तामा पुग्छ। दाई पुस्ताले विदा लिनुपर्छ।’ उनले महाधिवेशन प्रतिनिधि चुनाव लडेर आउनुपर्नेमा आफू अडिग रहेको र केन्द्रीय समितिमा पनि यही कुरा राखेको जानकारी गराए।

रिजालले कांग्रेसले तत्काल सत्तामा जानेबारे नसोचेको स्पष्ट पार्दै बाहिरै बसेर सरकारलाई खबरदारी गर्ने बताए। ‘हामी आजै सत्तामा जाने कुरा गलत छ। ४ वर्ष कुर्नुपर्छ। बहिरै बस्नुपर्छ’, उनले भने।

विचार बोकेर परराष्ट्र नीति चल्छ?

पूर्वमन्त्री समेत रहेको रिजालले भेनेजुएला प्रकरणमा सरकारले विचारधारामा टिकेर सहयोगी राष्ट्रलाई चिढ्याएको आरोप लगाए। ‘कुनै सम्बन्ध नभएको भेनेजुएलाका लागि ठूलो सहयोगी राष्ट्र अमेरिकालाई बुरुक्क उफ्रेर चिढ्याउने काम गरियो।

विचार बोकेर परराष्ट्र नीति चल्छ?’ उनले प्रश्न गरे, ‘परराष्ट्र नीति कम्युनिस्ट विचार धाराबाट चल्छ कि राष्ट्रिय स्वार्थबाट चल्ने हो?’ परराष्ट्र नीति राष्ट्रिय स्वार्थबाट नचल्ने हो भने देश विकास नहुने, समृद्ध नेपाल पनि नबन्ने उनको भनाई छ। उनले प्रधानमन्त्रीको हल्का अभिव्यक्तिले मतदाताको अपमान भएको दाबी गरे। ‘प्रधानमन्त्रीको काम पुराण पढाउने हो कि देश चलाउने, विकास गर्ने?’ उनले प्रश्न गरे।

नेता रिजालले सरकारको एक वर्षे कार्यकाल पूर्ण असफल रहेको आरोप लगाए। सरकारको प्रशंसा गर्ने कुनै आधार नभएको उनको भनाई छ। काम गर्नका लागि सरकारलाई प्रशस्त अवसर भए पनि प्रधानमन्त्री कल्पनामा रमाएको उनले आरोप लगाए। ‘प्रधानमन्त्री अर्कै लोकमा छन्। जनता अर्कै लोकमा। प्रधानमन्त्री ओलीले जनतामा आशा जगाए, तर काम गरेनन्। अहिले विश्वसनीयता र साख गुमाए’, उनले भने।

सरकार रेल र पानीजहाजको रमितामा रमाएको भन्दै उनले एक वर्षे कार्यकालमा केही गर्न नसक्दा विकासको जग हालेको प्रचार गरिरहेको आरोप लगाए। वाइड बडी जहाज खरिद प्रकरणको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको भन्दै सत्य तथ्य बाहिर आउने विश्वास व्यक्त गरे। कांग्रेस नेताका नाममा रहेका अस्पताल केन्द्र मातहत ल्याएर सरकारले गल्ती सच्याएको भन्दै उनले यो कांग्रेसको संर्घषको परिणाम भएको बताए नागरिकन्युजमा समाचार छ ।

प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार  ४ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।