Logo

प्रमुख समाचार

ओलीको प्रचण्ड माथि झटारो, जनयुद्ध बिर्साउन रोजगार कार्यक्रम



 प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र फुट ल्याउने कोशिस थाम्न नसकिने गरी आइपरेको बताएका छन्। तत्कालिन माओबादीको सशस्त्र विद्रोह थालनीको जनयुद्ध दिवसकै दिन पारेर बुधबार काठमाडौंमा आयोजित प्रधानमन्त्री रोजगार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, पार्टी हुँडल्ने कोशिस थामिनसक्नु भएको बताएका हुन्।

तर उनले पार्टीभित्र समस्या ल्याउने कसैको काम पनि सफल नहुने दाबी गरे। उनले भने, “सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो, यसभित्र समस्या पैदा गर्ने कोशिस ओहो, थामिसक्नु छैन। बाका कानमा गएर भन्ने बा आमा बोक्सी छन्। आमाका कानमा गएर भन्ने आमा बा जँड्याहा भए। दुबैले पत्याउँदैनन्। फेरी गएर भन्ने। बा पत्याउनुहुन्न के गर्ने। आमाकोमा गएर भन्ने तपाईं पत्याउनुहुन्न, भरे गएर मुख सुँघ्नुस्न कस्तो गन्हाउँछ। नभन्दै आमा गएर मुख सुँघ्छिन्। गन्हाको त हुँदैन। तर बाउलाई लाग्छ, मुख सुँघ्न आई, बोक्सी त रहिछ।

यस्ता प्रयास थुप्रो भका छन्। तर प्रयास नगरेहुन्छ। न यहाँ आमाले मुख सुँघ्नेछन् न बाले बोक्सीको आरोप लाउँछन्”।  बुधबारै नेकपाको मुख्यालयमा बोल्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रतिक्रियाबादीहरुले पार्टी फुटेको हेर्न चाहेको आरोप लगाएका थिए। तर पार्टी एकता टुटाउनका लागि कस्ले कस्लाई उचालेको, फकाएको र गलाउन खोजेको भन्नेबारे ओलीले झैं प्रचण्डले पनि मुख खोलेनन्।

ओलीको झटारो

रोजगार कार्यक्रममा प्रधानमन्त्रीले दुईचारेक झटारा पनि फाल्न भ्याए। पूर्व एमालेसँग पार्टी मिल्नु अघिसम्म तत्कालिन नेकपा माओबादीले वर्षेनी फागनु १ गते आफ्नै बलबुतामा जनयुद्ध दिवस मनाउँदै आएको थियो। तर यसपाली त्यस्तो भएन। एमालेसँग मिसिएपछि, उसको जनयुद्ध दिवसमा अरु आन्दोलनका शहीदहरु समेत थपिएका छन् । कार्यक्रमको नाम नै ‘जनआन्दोलन र जनयुद्धका महान शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ राखिएको थियो।

जहाँ प्रचण्डले युद्धमा मारिएका आफ्ना नेता कार्यकर्ता मात्रै नभएर पूर्व एमाले कार्यकर्ता सहित, राणा शासन बिरुद्धको संघर्षसम्मका सबै मृतकहरुलाई एकमुष्ठ श्रद्धान्जली भन्ने अबस्था आइलाग्यो। तर धुम्बाराहीको कार्यक्रममा, पूर्व एमाले शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनालदेखि अध्यक्ष ओली समेत गएनन्। सफ्ट बहिष्कार गरे। उपस्थिति देखाउन दोश्रो बरियाता नेताहरु भीम रावल, युवराज ज्ञवाली, सुवास नेम्बाङहरुलाई पठाए। पूर्व माओबादीको जनयुद्धमाथि ओलीको यो सबभन्दा ठूलो झटारो थियो।

माओबादी सशस्त्र युद्धका सबैभन्दा कडा आलोचक ओलीले यही कार्यक्रम टार्नका लागि आजै प्रधानमन्त्री रोजगार कार्यक्रममो प्रहसन मन्चन गरेको, पूर्व माओबादी नेताहरुको दाबी छ। ती नेताले भने, नत्र कुनै जाति विशेषको कार्यक्रमका बेला विज्ञप्ती निकाल्न सक्ने ओलीले किन जनयुद्ध जस्तो महान आन्दोलनको दिवसमा दुई शब्द श्रद्धान्जलीको शब्द लेख्न सकेनन् ?

राष्ट्रियसभामा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रममा ओलीले घुमाउरो पारामा प्रचण्डमाथि पनि प्रहार गर्न भ्याए। भेनेजुएला विज्ञप्ती प्रकरणको प्रसंग जोड्दै उनले, कुनै पनि देशमाथि हस्तक्षेप गर्न नपाइने भनेर अमेरिकालाई जवाफ दिए पनि, टुक्का भने प्रचण्डतिर जोडे। उनले भने “हाम्रा छिमेकीहरु वा अन्तर्राष्ट्रिय मित्रहरु कसैसँग पनि कसैले (जोड दिएर) असमझदारी बढाउँछु भन्ने प्रयास गर्‍यो भने, असफल हुनेछ।

उनले प्रचण्डतिर निशान साँध्दै थपे “बुद्धि पनि ठीक ठाउँतिर देश विकासतिर लगाए भो नि यस्ता नचाहिँने नचाहिने कुरा तिर किन लगाउने बेकार”। ओलीको रोजगार कार्यक्रमलाई प्रचण्डले पनि भाउ दिएनन्। नेपाल सरकारले ल्याएको नयाँ भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको अबधारणा भारतमा मोदी सरकाको फोटो कपी भएको धेरैले टिप्पणी गर्न थालेका छन्।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ४ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।