Logo

राजनीति

प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्ने



सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी ओलीले आज सरकारको वर्षदिनको उपलब्धि सार्वजनिक गर्दै छन ।उनले सिंहदरबारमा ग्यालरी बैठक अगाडि दिउँसो ४ बजे राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहान १० बजे ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको र काठमाडौंको राष्ट्रिय सभागृहमा साढे १० बजे जनताको जलविद्युत आयोजना कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका छ ।

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नारा तय गरिएको ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रममा नागरिकको छरिएर रहेको पूँजी परिचालन गर्ने सरकारको योजना छ ।

आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत सेयर तथा प्रभावित क्षेत्रका नागरिकको १० प्रतिशत सेयर रहने गरी कानुनी व्यवस्था गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । कार्यक्रम अन्तरगत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

ओली नेतृत्वको सरकार गठन भएको भोलि एक वर्ष पूरा हुँदैछ । दुईतिहाईको सरकार गठन भए पनि काम भन्दा धेरै कुरामात्र भएको गुनासो बढ्दै गएको छ । यो एक वर्षमा सरकार विकास बजेट खर्च बढाउन असफल भएको छ ।

बजेट सार्वजनिक भएको सात महिनासम्म पनि सरकारले जम्मा साढे २२ प्रतिशत मात्रै विकास खर्च गरेको छ । सरकारले बजेट खर्च सुधार्नको लागि जेठ १५ गते नै बजेट ल्याउने चलन सुरु गरे पनि विकास बजेट खर्चको अवस्था सुध्रन नसकेको हो ।

एक वर्षमा व्यापार घाटा बढेको छ भने नेपाललाई चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ८५ अर्ब रुपैयाँ शोधान्तर घाटा भएको छ । तर विदेशी मुद्रा सञ्चितिको स्थिति भने उस्तै रहँदा वैदेशिक लगानी पनि घटेको छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ४ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।