Logo

प्रमुख समाचार

काँग्रेसले भन्यो – प्रधानमन्त्रीको सम्बोधन अहंकारको ठुलो परिभाषा



संसदको ठुलो प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज भएको राष्ट्रवासीको नामको सम्बोधनमा अहंकार प्रस्ट रुपमा  झाल्कियाको भएको बताएका छन् । नेपाली काँग्रेस नेता तथा पूर्व स्वास्थ्य मन्त्री समेत रहेको गगन कुमार थापाले  फरक मत राख्नेमाथि असहिष्णु तरिकाले प्रस्तुत भएको बताएका छन् । भन्छन्, ‘प्रधानमन्त्रीज्यूको भाषाशैली र प्रस्तुति हेर्दा अहंकार तुष्टिको अर्को श्रृखंला थप्नका लागि मात्रै सम्बोधन गर्नु भएको हो कि जस्तो लाग्यो ।’

सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा गरिएको सम्बोधनले प्रधानमन्त्रीले भने जस्तो पहिलो वर्ष आधार वर्ष हो भनेर उत्साह जगाउन नसकेको नेता थापाको भनाइ छ । उनी पहिलो वर्षमा कमी कमजोरी नै नभए जसरी प्रस्तुत हुँदा सरकारले अधिकतम गर्न सक्ने नै यति रहेछ भने जनतामा थप निराशा पैदा हुने बताउँछन् ।

अर्थतन्त्रको आंशिक पक्ष मात्रै देखाएर भ्रम छर्न खोजिएको थापाको आरोप छ । उनी भन्छन्, ‘तथ्यांकमा खेल्न मन लाग्दैन भन्दै आफू अनुकुलको तथ्यांक प्रस्तुत गर्नुभयो ।’

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा ओली आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताउँछन् । ‘मैले धेरै काम गर्छु भनेको थिएँ, केही पुरा भए, नसकेको चार वर्षमा पुरा गर्छु भन्नु भएको हुन्थ्यो’ शर्मा भन्छन्, ‘गल्ती कमजोरी नै छैन भनिसकेपछि त के आशा गर्नु ?’

समयमा बजेट खर्च नभएको, व्यापार घाटा बढेको, शेयर बजार घटेको देख्दादेख्दै राम्रै–राम्रो भयो भन्दा कसैले नपत्याउने प्रवक्ता शर्माको भनाइ छ । ५ फागुनमा पत्रकार सम्मेलनमार्फत सरकारको एक वर्षे कार्यकालबारे काँग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने उनले  जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ४ : ०० बजे