प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ तथा राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले देशमा केपी ओली नेतृत्वको सरकार आएदेखि काण्डैकाण्ड मुछिएको बताएकी छन्। उनले सरकारको एक वर्षे कार्यकाल सानो सानो काण्ड नभएर देश नै हल्लिने काण्डैकाण्डमा बितेको आरोप लगाएकी छन् ।
सभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद देवकोटाले प्रधानमन्त्री ओलीको ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो‘ भन्ने भनाइको जोडदारका साथ खण्डन गरेकी छन् ।सांसद देवकोटा विशेष समयमा बोल्दै भनिन्, ‘हिजो मात्रै प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो ।
भैसी कस्तो ब्यायो? दूध कोकोलाई पुग्यो सभाध्यक्ष ज्यू ?’ ‘भैसीको दूध सिंहदरबारभित्र बस्ने मन्त्रीहरूलार्इ मात्रै पुग्याे की अरूलार्इ पनि?।’प्रधानमन्त्री ओलीले बुधबार राजधानीमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सरकारको एक वर्षे सफलता सुनाउँदै ‘हेर्दाहेदैै भैसी ब्यायो ! दूध पनि दियो, पाडी पनि पायो ! ‘ नेपाली जनताले देख्न खोजेको दिन यही हो’ भनेका थिए ।
ओली यस्ताे उखान टुक्काका काँग्रेसले खण्डन गर्दै देशकाे विकास र जनताकाे पक्षमा ओली नेतृत्वकाे सरकार उनका मन्त्रीहरूलालाई लाग्ने सुझाएकाे छ।ओलीकाे यस्ताे उखान टुक्काका भनार्इलार्इ लक्षित गर्दै काँग्रेसले ओली प्रचण्ड नेतृत्वकाे सत्तारूढ दल नेकपाले झुठकाे राजनीति गरिरहकाे आरोप लगाएकाे छ।
प्रधानमन्त्रीको अभिव्यक्ति १७ बुँदामा
१. स्मरण गरौं, गत वर्ष आजको दिन । आम निर्वाचन सकिएको ३ महिना बितेको थियो । जनमतले ‘तिम्रो मिति पुग्यो’ भनेकाहरु अझै सरकारमै थिए । झण्डै दुईतिहाई जनमत सहित शासनको वागडोर सम्हाल्न तयार रहेको मेरो नेतृत्वको गठबन्धनलाई बैध सत्ता हस्तान्तरण गर्न त्यो पक्ष आनाकानी गरिरहेको थियो ।
तीन महिनादेखि कानुनका नौवटै सिङले हाम्रो लोकतन्त्रलाई बारम्बार उधिनिरहेको थियो । आम जनमत ‘अब त अति भयो’ भन्ने तहमा थियो । जिम्मा लिने पक्ष तयार थियो, तर छोड्नुपर्नेमा भने ‘यो के अनर्थ भयो’ भनेजस्तो विस्मयकारी मनस्थिति कायमै थियो । यही स्थितिलाई सङ्केत गर्दै मैले भनेको थिएँ, ‘अनर्थ हैन– यो नयाँ जनमत हो । यो त आयो । आयो है भन्ने बुझ्नुस् र त्यही अनुरुपको बानी बसाल्नुस ।’
२. केही मानिसहरुमा विचारधारात्मक आग्रह/पूर्वाग्रह देखिँदैछ । जनतालाई सबै हिसावमा सार्वभौम तुल्याउने र उनीहरुलाई सवल बनाउने हाम्रो अभियानबाट ध्यान बराल्न ‘लोकतन्त्र खुम्चिन थाल्यो, अधिनायकवाद आयो’ भन्ने अफवाह फैलाईंदैछ । फैलिँदो र फैलिएको परिपूर्ण लोकतन्त्रलाई खुम्चिएको देख्नु आश्चर्यलाग्दो दृष्टिदोष हो । म स्पष्ट पार्न चाहन्छु, लोकतन्त्र हाम्रा लागि आदर्श हो, थितियुक्त, सुसंगत र परिष्कृत व्यवस्था हो– जिविका चलाउने व्यवसाय हैन ।
३. जगखन्दा तल्ला र छानाको परिकल्पना त गरिन्छ । तर, कसैले जगलाई नै हेरेर खै त चोटा÷कोठा, खै छाना भन्यो भने कसको के लाग्छ ? मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेहरुले नै ‘खै घर बनाएको’ भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौं । यस्ता प्रश्नमा प्रतिक्रिया किन दिउँ भन्ने म ठान्दछु ।
४. गत पुस २२ गते प्रतिनिधिसभामा सम्बोधन गर्दा मैले केही तथ्याङ्क उल्लेख गरेको थिएँ । मेरा भनाइलाई अङ्कमा हैन, भावमा सुन्न रुचाउनेहरुले ‘प्रधानमन्त्रीले तथ्याङ्क’ बोल्ने भन्दै प्रश्न गर्नुभयो । जसलाई सरकारले गरेका प्रगतिले पोल्यो, उनीहरुले त्यसलाई ‘मिथ्याङ्क’को रुपमा होहल्ला गरे । यस्तो सुनिन्थ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै बिग्रेको, भत्केको, उजाडिएको सुन्नु हो । यो मुलुकमा प्रगतिको अङ्क बोल्ने ? त्यो त तथ्याङ्क नै हैन, मिथ्याङ्क हो … । आज जे भइरहेछ, त्यसलाई म कसरी उल्लेख नगरौं ?
५. खै लगानी आएको ? खै त उद्योग ? भन्नेहरुलाई यत्तिचाँहि भनौं, यस अवधिमा ४ सय ९९ वटा उद्योग दर्ता भई जम्मा १ खर्ब ९८ अर्व रुपैयाँको लगानी प्रस्ताव भएको छ । विदेशी लगानीतर्फ ४ सय १६ वटा उद्योगले अनुमति लिई ५१ अर्व ८३ करोड रुपैयाँको लगानी प्रस्ताव भएको छ ।
६. एकजना शुभचिन्तकले गर्नुभएको प्रश्न याद आइरहेको छ– तपाईंलाई सुन्दा मुलुकमा केही भइरहेको महसुस हुन्छ । तर तपाईंले जे भनिरहनु भएको छ नि, हो त्यसलाई अरुहरुले किन पत्याइरहेका छैनन् त ? प्रश्न गहिरो हो । अरु भनेका को र कस्ता हुन् मैले जिज्ञासा राखिनँ । एउटा प्रतिप्रश्न गरेँ– खाली भाँडो थियो, त्यसलाई मैले आधा भरेँ । म जेलाई आधा भरी भनिरहेको छु, प्रश्नकर्ताहरु त्यसैलाई आधा खाली भनिरहेका छन् त कसरी स्पष्ट पारौं ?
७. हाम्रो एउटा अनौठो बानी छ, ९/९ महिनामा नयाँ सरकार हेर्ने । सरकार बनेको ३ महिना चुप लाग्ने, अर्को तीन महिना खै त काम भन्ने र ९ औं महिनामा सरकार फाल्ने । यस्तो बानी परेका हामीहरुलाई सरकारले कामै गरेर एक बर्ष कटायो भन्दा पनि अनौठो लागेको हुनसक्छ भन्ने म अनुमान गर्न सक्दछु । आज जे जे प्रश्नहरु म सुनिरहेको छु, ती ‘नौ–महिने’ अनुभवमा आधारित प्रश्नका सार पो हुन् कि ? यदि यस्तै हो भने– विनम्र अनुरोध गर्दछु, बानी फेरौं । नयाँ बानी पारौं ।
८. बस्तु नदेखी त्यसको आकार आँकलन कमैले मात्र गर्न सक्छ । त्यसैले पनि हुन सक्छ नेपालमा पानीजहाज, जल परिवहन र रेल यातायातको चर्चा गर्दा ‘यस्तो पनि भन्ने’ जस्ता प्रश्न उठे । हवाइजहाजले यस धर्तीलाई परिक्रमा गरेको गर्यै छ । समुद्रमा जहाज कुदेको कुदै छ, नदीहरुको बाटो हुँदै तिनीहरुले फन्को मारी नै रहेका छन् । हामी पनि चलाऊँ न भन्दा सपना मात्रै किन ठानिन्छ ?
९. के यी हाम्रा योजनाहरु, नारायण गोपाल–अरुणा लामाले गाएको गीत जस्तो– ‘… त्यो तारा मात्रै हैन, जून पनि झारी दिउँला’ भने जस्तो हो र ?
१० आज बिहानमात्रै मैले पानीजहाज कार्यालय उद्घाटन गरेँ । त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो । भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला– ‘अड्डा खुलेछ, टिकट काट्न जाऔं कि ?’ म पनि ठट्टा गरौं ? ‘त्यो टिकट काट्ने अड्डा हैन । नजानुस् । टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ । खबर मैं गरौंला ।’
११. द्वन्द्व व्यवस्थापन, शान्ति प्रक्रिया, विशिष्ट प्रकृतिको निर्वाचन प्रणाली र अन्त्य भएको राजनीतिक संक्रमणकालजस्ता प्रगति दुनियाँलाई आश्चर्य नै पार्ने प्रकृतिको मैले पाएँ । यसै विषयलाई लिएर उटपट्याङ् टिप्पणी गरियो, त्यो पनि पढ्न/लेख्न जान्ने, आफूलाई ‘ओपिनियन मेकर’ भन्न रुचाउनेहरुबाट । अघि बढिरहेको आफ्नो मुलुक ओरालो लागेको र स्वाधीन देश परनिर्भर रहेको सन्देश सम्प्रेषण गरेर रमाउने यस्तो प्रवृत्ति देख्दा दुःख लाग्छ ।
१२. यहीँनेर ‘महंगी अचाक्ली बढ्यो । के यही दिन देख्न हामीले लोकतन्त्र ल्याएका थियौं ?’ जस्ता तर्क गर्नेसँग थोरै सम्वाद गर्न चाहन्छु । बेसाहा सस्तो छ, ज्यालाबाट ब्रम्हाण्ड नै किन्न सकिन्छ त म पनि कहाँ भनिरहेको छु र ? तर, तुलना त हिजो र आजको बीचमा हुनुपर्ने होला नि ? तपाईंहरु नै भन्नुस् न त, अहिले औसत मुद्रास्फिति ४.२ प्रतिशत छ, गत साल कति थियो ? यो मुद्रास्फिति स्वाभाविक सीमाभित्र छ कि छैन ?
१३. तपाईंहरुलाई नै विनम्र प्रश्न गर्ने अनुमति चाहन्छु– छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नुभएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरुको जीवन कष्टकर हुने नकाम के के भए ?
१४. काम पनि नभएका, रोजगारीको अवसर समेत नपाएकालाई सकेसम्म न्यूनतम रोजगारीको प्रत्याभूत गर्ने, रोजगारी दिन नसके निश्चित मापदण्डका आधारमा बेरोजगार भत्ता दिने व्यवस्था मिलाइएको छ । फेरि पनि केही हल्ला त रही रहने छ । यस्तो हल्ला गर्नेहरु रोजगारबिनाको रोजगारी र परिश्रमबिनाको पारिश्रमिक पाउने झुण्ड मात्रै हुन् ।
१५. मैले घोषणा गरेको छु– ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ कसैले यसलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दैछ । बुझे हुन्छ– भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा म मुखमा पानी हालेर बोलिरहेको छैन । अहिले सुशासनका संयन्त्रहरु क्रियाशील भएका छन् । हिजो भ्रष्टाचार गर्नेहरु आज क्रुद्ध छन् । भ्रष्टाचार गर्न तम्सिनेहरु तर्सिएका छन् । कसरी भ्रष्टाचार गर्न सकिन्छ भनेर दुलो गौंडा चाहार्नेहरु मुर्मुरिएका छन् । अनौठो लाग्छ, तिनै व्यक्तिहरु देशमा सुशाशन भएन भन्दै मिडियामा झुल्किन्छन् ।
१६. फेरि पनि उही गीत सुन्छु– भ्रष्टमाथि कारबाही खै ? तथ्यमा जाऔं ।….. महत्वाकांक्षा उच्च, डेलिभरी सुस्त भयो, विकासको हल्ला भयो– अविकास हात लाग्यो, प्रतिलोकतान्त्रिकरणको प्रक्रियामा यो सरकार सहायक भयो जस्ता भूमिबिनाको आरोप र टिप्पणी पनि नसुनिएको हैन ।
१७. हाम्रा चुनौती के–के हुन् मात्र होइन को को हुन् भन्ने पनि हामीलाई राम्रैसँग थाहा छ, । कतिलाई यही स्थायित्व अभिसाप बनेको हुन सक्छ । त्यसैले राजनीतिक स्थायीत्वलाई तेजवोध गर्न कृत्रिम घटना सिर्जना गर्ने र त्यसैका आधारमा सामाजिक अराजकता फैलाउन उद्यत छन् । समृद्ध नेपाल निर्माणको यस तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै आएका छौं, र तोड्दै जानेछौं पनि ।
प्रतिक्रिया