Logo

प्रमुख समाचार

राष्ट्रिय सभामा रक्षामन्त्रीलाई फेरि प्रश्न : ‘तपाईँको एक हप्ता अझै आएन ?’



 निर्मला पन्तको हत्यारा एक सातामा पत्ता लाग्छ भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएका रक्षामन्त्री ईश्वर पोखरेलको सो अभिव्यक्तिबारे राष्ट्रिय सभामा फेरि पनि आवाज उठेको छ । दुई महिना वित्नै लाग्दा समेत उनले भनेको एक साता नआएको भन्दै यस अघि पनि सांसदहरुले प्रश्न उठाएका थिए भने बिहीबार राष्ट्रिय सभामा फेरि उनलाई झक्झक्याउने काम भएको छ ।

राष्ट्रिय सभामा विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य अनिताकुमारी देवकोटाले निर्मला पन्त हत्याको विषयमा सरकारका उपप्रधानमन्त्रीले दिएको अभिव्यक्ति आधारहीन हुनु नहुने भन्दै पोखरेलको एक हप्ता कहिले आउँछ ? भनेर प्रतिप्रश्न गरिन् । सरकारको एक वर्षको उपलब्धी यही रहेको भन्दै कैयौं निर्मला पन्तहरुको बलात्कार पछि हत्या हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

गत मंसिर २२ गते ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १० औं मानव अधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको भन्दै एक साता भित्र हत्यारा सार्वजनिक हुने दाबी गरेका थिए । तर, दुई महिना पूरा भईसक्दा पनि उनको भनाई अनुसार निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेपछि मन्त्री पोखरेलको तीब्र आलोचना हुने गरेको छ ।

माघ २३ गते गृहमन्त्री रामबहादुर थापा वादलसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा बोल्दै काँग्रेस नेता गगन थापाले पनि गृहमन्त्रीको एक साता कहिले आउँछ ? भन्दै प्रतिप्रश्न गरेका थिए । यस्तो प्रश्न आईरहँदा सरकार पक्ष भने सधैं मौन रहने गरेको छ । त्यस भन्दा पहिले पनि पौष १३ गते काँग्रेसकी सचेतक पुष्पा भुषालले रक्षामन्त्री ईश्वर पोखरेलले पक्राउ परेको दाबी गरेका कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा खोई रु भन्दै सरकारसँग जवाफ माग गरेकी थिईन् ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ८ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।