नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईसँग भेट गरेका छन् । राजदूत मोरिसले बेलायती सेनाबाट अवकास प्राप्त भूूतपूर्व गोर्खा सैनिकहरुले उठाउँदै आएको माग र समस्याको छलफलका लागि भट्टराईसँग भेट गरेका हुन् ।
राजदूत मोरिसले भट्टराईसँग शुक्रबार भेटेर भूतपूर्व गोर्खा सैनिकहरुको माग र पछिल्लो अवस्थाको बारेमा कुराकानी गरेका हुन् । सांसद भट्टराईले नेपाल र बेलायत सरकारबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल र बेलायतबीचको सम्बन्धको एउटा कडी गोर्खाहरुको समस्या र मागका बिषयमा राजदूतको ध्यानाकर्षण गराए ।
सन् १८१६ को सुगौली सन्धीपछि आजसम्म नेपाली युवाहरु बेलायती सैनिकमा भर्ना भएर काम गरिहेको तर उनीहरुमाथि विभेद रहेको उल्लेख गर्दै सांसद भट्टराईले समस्या सम्बोधनको निम्ति पहल गर्न ध्यानाकर्षण गराए । सांसद भट्टराईले नेपाली युवाहरुले बेलायती सेनामा भर्ना भएर दिएको योगदान र बलिदानको सम्झना गराउँदै उनीहरुमाथिको विभेद अन्त्यमा जोड दिए ।
सांसद भट्टराईले १ जुलाई १९९७ अघि सेवानिवृत्त गोर्खा सैनिकहरुको पेन्सनमा विभेद रहेको भन्दै गोर्खाहरुको पेन्सन पनि बेलायती नागरिक सरह बनाउन पर्नेमा जोड दिए । गोर्खाहरुको अभियान र आन्दोलनपछि १ अक्टोबर १९९३ पछि भर्ती भएका गोर्खाहरूको पेन्सन र तलब १ अप्रिल २००७ बाट बेलायती नागरिक समान बनाएको थियो ।
यही समस्या सम्बोधन गर्नका निम्ति ३० मार्च २०१७ मा बेलायत सरकार, नेपाल सरकार (लण्डनस्थित नेपाली दूतावास) र गोर्खाहरुको प्रतिनिधि सहभागी प्राबिधिक समिति बन्नु सकरात्मक भएको उल्लेख गर्दै उनले त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदन अनुरुप गोर्खाहरुको माग सम्बोधन गरिनुपर्नेमा जोड दिए । त्रिपक्षीय प्राबिधिक समितिले गत २२ मार्च २०१८ ब्रिटिश सरकार र नेपाल सरकारलाई बुझाएको उल्लेख गर्दै ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले एक महिनाभित्र बेलायत र नेपाल सरकारस्तरीय वार्ता समिति बन्ने र माग सम्बोधन गरिने बताएको संस्मरण गराए ।
सांसद भट्टराईले गोर्खा सैनिकहरुको पेन्सन ‘भारतीय रिजर्भ बैंक’ मार्फत आएको भन्दै सिधै नेपाल राष्ट्र बैंकमा पठाउनका निम्ति ध्यानाकर्षण गराए । यस्तै गोर्खाहरुलाई नेपालमै बेलायतसरहको स्तरीय स्वास्थ्य सुविधा, कटौतीमा परेका गोरखाहरुलाई पेन्सनको व्यवस्था, युद्धपीडितहरुलाई क्षतिपूर्ति र सम्मान, अमेरिकाको हवाइ काण्डका पीडितहरुलाई क्षतिपूर्ति, गोरखा कल्याणकारी कोषको पैसा गोर्खाहरुको हितमा प्रयोग लगायतका बिषयमा राजदूतसँग कुराकानी गरे ।
भेटमा राजदूतले संसदमा सांसद भट्टराईले उठाएको बिषयप्रति पनि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मुद्धा सम्बोधनको निम्ति गम्भीर रहेको जानकारी दिए ।
भट्टराईले पछिल्लो समस्यामा गोर्खाहरुको मुद्धा सम्बोधनको निम्ति सक्रियता देखाएपछि राजदूत मरिसले उनीसँग भेटेका हुन् । भेटमा बेलायती राजदूतावासका डिफेन्स अट्याची कर्णेल रिचार्ज गुडम्यान ‘एमबिइ’ र डेपुटी डिफेन्स अट्याची धन गुरुङ पनि सहभागी थिए ।
प्रतिक्रिया