Logo

प्रमुख समाचार

मान्छे मार्ने माओवादी लोप नै भयो, ओलीका पनि बर्बादि सुरुभयो : रामहरि खतिवडा



नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा पूर्णरुपमा असफल भएको बताएका छन् ।काठमाडौंको बत्तीसपुतलीमा शुक्रबार नेपाल माओवादी पीडित संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले एक वर्षको दौरानमा ओली सरकार पूर्ण रुपमा असफल भएको बताएका हुन् ।

‘ओली सरकार बनेको एक वर्ष पूरा भएको छ । एक वर्षमा यो सरकार हरेक क्षेत्रमा फेलियर भएको छ’, उनले भने, ‘निर्मला पन्तका बलात्कारी र हत्याहरू छ महिना हुँदा पनि पक्राउ पर्न सक्दैनन् । देशका विभिन्न स्थानमा हत्या, बलात्कारहरू भएका छन् । महँग बढेको छ । अराजकता बढेको छ । शान्ति सुरक्षा छैन ।’

उनले कम्युनिस्ट सरकारका मन्त्रीहरू भ्रष्ट भएको भन्दै आलोचना गरे । ओली सरकारका मन्त्रीहरू क्वाटरमा बसेर भाडा लिएर खाने गरेको बताएका कांग्रेसका नेता खतिवडाले भने, ‘सांसदहरूले पनि घर हुँदा हुँदै घर भाडा लिन्छन् । मन्त्री र सांसदले घर भाडा लिएको विषयमा प्रश्न उठाउँदा शासन व्यवस्थामा प्रहार भयो भनिन्छ । यस्तो अवस्था छ ।’

प्रधानमन्त्री ओली आफैले माओवादी र प्रचण्डलाई बाँदर भनेर आलोचना गरेको प्रसंग उठाएका खतिवडाले भने, ‘केपी ओलीजीले अहिले आफैले बाँदर भनेका प्रचण्ड र माओवादीलाई मिसाएर हिँड्नुभएको छ । ती बाँदरहरूलाई राखेर मन्त्रिमण्डल बनाउनु भएको छ ।’

नेपाली कांग्रेस आफू हारेर पनि देशभरिका जनतालाई हत्या हिंसा गर्ने माओवादीलाई निमिट्यान्न पारेको भन्दै युवा नेता खतिवडाले भने, ‘माओवादी र एमाले भन्ने पार्टी नै छैन । यो हाम्रो उपलब्धि हो ।’ सर्वसाधारण जनताको हत्या गर्ने माओवादी देशबाट लोप भएको भन्दै उनले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान कांग्रेसले ल्याएको बताएका उनले भने, ‘कांग्रेस इतिहाँसका परीक्षाहरूमा उत्तीर्ण हुँदै आएको छ । कम्युनिस्टहरू फेल भएका छन् । फेरि पनि देश बचाउन जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।’

सर्वसाधारण जनताको हत्या गर्ने प्रचण्ड र माओवादीलाई कानूनी कठघारामा उभ्याउनु पर्ने उनले बताए । ‘हामीले सर्वसाधारण जनताको हत्या गर्ने माओवादीलाई कानूनी कठघारामा उभ्याउनै पर्छ’, उनले भने, ‘प्रचण्ड अहिले सुरक्षा घेराभित्र रहेका होलान् । कानूनले प्रचण्डलाई छाड्दैन । कानूनले छाड्यो भने प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौँ ।’

कांग्रेसका युवा नेता खतिवडाले प्रचण्ड कानूनसँग डराएर भोगको आरोप पनि लगाए । ‘कानूनदेखि डराएर प्रचण्ड भागेका छन् । कति दिन भाग्दा रहेछन् हामीले पनि हेरेका छौँ’, उनल भने ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ५ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।