Logo

प्रमुख समाचार

पार्टी एकता अलमलमा ओली, दाहाल र नेपालबीच भागबन्डा मिलेन



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अलमलमा परेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको हो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भागबन्डा नमिलेपछि एकता अलमलमा परेको हो ।

तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्र पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।हालसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन् ।

घोषणा भइसकेका प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

नेकपाका एक नेताका अनुसार मुख्य समस्या तीन नेतामा नै रहेका कारण एकता टुंगो लाग्न नसकेको हो । अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालबीच भागबन्डा मिल्न नसकेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको दाबी उनले गरे ।
‘अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपालबीच भागबन्डा नमिलेकै कारण एकतामा ढिलाइ भइरहेको छ,’ ती नेताले भने, ‘नेकपा अब नेकपा रहेन, प्रालि जस्तो भइसक्यो, कार्यदल गठन हुन्छ, सचिवालय छ तर पनि तीन कम्पनीका बीचमा भागबन्डा नमिलेरै एकता टुंगो अलमलमा परेको छ ।’

पछिल्लो नौ महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन हुँदै भए । केन्द्रीय सचिवालयमा गहन छलफल भए पनि टुंगो लाग्न समस्या हुने गरेको दाबी उनको छ । एकता टुंगो लाग्न नसक्दा हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन हुनुका साथै पार्टी सञ्चालन तथा त्यसको प्रभाव सरकारमा समेत परिरहेको विश्लेषण उनले सुनाए ।

‘प्रदेश इन्चार्ज, विभाग प्रमुख, जनसंगठन अध्यक्ष, जिल्ला अध्यक्षलगायतमा कसको कति भाग हुन्छ भन्ने नै टुंगो लागेको छैन,’ स्रोतले भन्यो, ‘सबै कुरामा भागबन्डा मिलेपछि मात्रै अन्तिम टुंगो लगाउँदै घोषणा हुन्छ, किस्ताबन्दीमा भागबन्डा मिलाउने प्रयास पनि जारी नै छ ।’
स्थानीय तहदेखि जिल्ला, जनवर्गीय संगठन, विभागहरूको टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । जिम्मेवारीविहीन भएका उनीहरूले नेतृत्वप्रति आक्रोश व्यक्त गर्न सुरु गरिसकेका छन् ।

तर नेकपा वरिष्ठ नेता झलनाथ खनालले एकता छिटै टुंगो लाग्ने दाबी गरे । आइतबार सचिवालय बैठक बोलाइएको र सो बैठकमा पछिल्लो समय गठन भएको कार्यदलको प्रतिवेदन प्रस्तुत गर्दै एकता विषयमा छलफल हुने उनले बताए ।

‘पछिल्लो समय गठन भएको कार्यदलको प्रतिवेदन आइतबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुनुका साथै छलफल हुन्छ,’ खनालले भने, ‘एकताको अन्तिम टुंगो पार्टी स्थायी कमिटीले नै लगाउनेछ ।’

पार्टी एकताको विषयलाई लिएर आफूहरू गम्भीर भएको बताउँदै उनले एकता छिट्टै टुंगो लगाउने बताए । पार्टी सचिवालयले एकतालाई टुंगो लगाएर छिट्टै नै देशैभरि अभियान सञ्चालन गर्ने तयारी गरेको र स्थायी कमिटीले पनि सो विषयमा छलफल गरिसकेको उनले बताए ।

नेकपा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकता छिटै नै टुंगो लगाउने गरी ‘हाइकमान्ड’ लागेको बताए । पार्टी स्थायी कमिटीका साथै सचिवालयले एकता टुंगो लगाउँदै सबै नेतालाई जिम्मेवारी दिने तयारी भएको उनले बताए ।

‘स्थायी कमिटीसहित सिंगो सचिवालय पार्टी एकता टुंगो लगाउन तातेको छ, हाइकमान्ड नै तातेपछि छिटै टुंगो लाग्छ’ साहले भने, ‘सबै नेता कार्यकर्तालाई जिम्मेवारी दिने गरी टुंगो लगाउने अन्तिम तयारीमा हाइकमान्ड जुटेको छ ।’

पार्टी एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको बताउँदै उनले एकीकरण सकेर देशैभरि अभियान सञ्चालन हुने बताए । पार्टी एकताको सन्देशका साथै सरकारका कामबारे देशभरि अभियान सञ्चालन गरी जनतालाई जानकारी गराउने उनले बताए ।

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  ४ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।