Logo

खेलकुद

आठौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेश छनोट सुरु



प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट प्रदेशस्तरीय खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ । छनोट खेलमा १० किलोमिटर दौडमा बागलुङका श्याम शेरचनले प्रतियोगिताकै पहिलो स्वर्ण पदक हात पारेका छन् । उनले उक्त दुरी ३५ मिनेट २०.४ सेकेन्डमा पूरा गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा सुरु भएको छनोटमा एथलेटिक्सको १० किमि पुरुषतर्फ पर्वतका प्रकाश कुँवरले उक्त दुरी ३५ मिनेट ४९.५ सेकेन्डमा पूरा गर्दै रजत र तनहुँका सुरेन्द्र चापागाईंले ३६ मिनेट ४.९ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

महिलातर्फ सम्पन्न १० किलोमिटर दौडमा नवलपुरकी डोलमाया महतोले ४५ मिनेट ५५.३ सेकेन्डमा पूरा गर्दै प्रथम भएकी छन् । दोस्रो भएकी म्याग्दीकी सोनिया बरुवाल ५१ मिनेट ४५.६ सेकेन्ड र तेस्रो भएकी स्याङ्जाकी दिया गैरेले ५२ मिनेट ३०.६ सेकेन्डमा पूरा गरिन् ।

यसैगरी १०० मिटर दौडमा नवलपुरका प्रकाश रानामगरले ११.३ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जिते भने कास्कीका सुदिप जोशीले ११.३ सेकेन्ड र म्याग्दीका सुजन थिनालले १२.२ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः कांस्य र रजत पदक जितेका छन् ।

महिला १०० मिटर दौडमा नवलपुरकी कल्पना श्रेष्ठले १४.२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण, कास्कीकी अनिशा भण्डारीले १४.४ सेकेन्डमा दौड पूरा गर्दै कांस्य र लमजुङ्की रेजिना कमालले १४.९ सेकेन्डमा दुरी पार गर्दै कांस्य जितिन् । पुरुष १५०० मिटर दौडमा कास्कीका स्माइल भण्डारीले ४ मिनेट ३२ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेका छन् । सोही स्र्पाधामा बागलुङका मनबहादुर बुढाले ४ मिनेट ३९ सेकेन्ड र पर्वतका प्रकाश कुँवरले ४ मिनेट ४२ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कांस्य पदक हात पारे ।

महिला १५०० मिटरमा कास्कीकी ललिता लामिछानेले ५ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी छन् भने स्याङ्जाकी जानकी खनालले ५ मिनेट ५५ सेकेन्ड र नवलपुरकी मालती चौधरीले ६ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कांस्य पदक जिते ।

सटपुट पुरुषतर्फ सम्पन्न प्रतियोगितामा नवलपुरका विनोद थनेतले स्वर्ण जितेका छन् भने गोर्खाका निशान गुरुङ र नवलपुरका निरज महतोले क्रमशः रजत र कांस्य जिते । महिला सटपुटमा कास्कीकी शोनु नेपालीले स्वर्ण पदक जितिन् भने तनहुँकी सुमित्रा थापा र मनाङकी कन्याकुमारी गुरुङले क्रमशः रजत र कांस्य पदक हासिल गरे ।

हाइजम्प पुरुषतर्फ कस्कीका सागर नेपालीले स्वर्ण पदक जितेका छन् । यसैगरी, लमजुङका अदित्य थापाले रजत र नवलपुरका समिर महतोले कांस्य पदक जिते । महिला हाइजम्पमा कुसुम रानामगरले स्वर्ण, सविना परियारले रजत तथा लमजुङ्की लक्ष्मी परियारले कांस्य पदक जितिन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  ४ : १० बजे