Logo

विविध

भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल फर्काइयो



रुपन्देही ।भोटेकोशी नदीमा आएको बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ।

भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो।

भारतीय प्रहरीले मंगलबार साँझ पाँचवटा र बुधबार अपराह्न चारवटा शव नेपाल ल्याएको हो। नेपाल ल्याइएका शवमा एक बालिकासहित चार महिला र पाँच पुरुष छन्।

बेलहियामा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सबै शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक मदनपुर–सुक्रौली क्षेत्रमा नदी किनारबाट शव फेला परेका हुन्। उक्त स्थान नेपाल–भारत सीमामा रहेको गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा पर्छ।

बुधबार नेपाल ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्ष उमेरकी बालिका, ३५ देखि ४० वर्ष उमेरकी महिला र ४० देखि ४५ वर्ष उमेरका पुरुष छन्। त्यस्तै, दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्ष उमेरका युवकको शव पनि भेटिएको छ।

पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार शवलाई सुरक्षित राखेर पञ्चनामा तयार गर्नुका साथै गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो। शवबाट डीएनएसहित आवश्यक प्रमाण सुरक्षित राखिएको उनले बताए।

नेपाल ल्याइएका शवको पहिचान तथा सम्बन्धित परिवारसँग समन्वयको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार २१:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।