Logo

अर्थ

सरकारको बेवास्ताले रियल स्टेट क्षेत्र प्रभावित हुँदा अर्थतन्त्रमा समस्या बढ्यो: व्यवसायी मल्होत्रा



काठमाडौं।  घरजग्गा कारोबारमा आएको सुस्तताले समग्र अर्थतन्त्रमा असर परेको व्यवसायीहरूले बताएका छन्। नीतिगत जटिलता, बैंकिङ प्रक्रियाको झन्झट र सरकारी प्राथमिकतामा रियल स्टेट क्षेत्र नपर्दा व्यवसाय चलायमान हुन नसकेको उनीहरूको भनाइ छ।

व्यवसायी दिपक मल्होत्राले रियल स्टेट क्षेत्रको गतिविधि घट्दा त्यसको प्रत्यक्ष असर निर्माण सामग्रीदेखि अन्य व्यावसायिक क्षेत्रमा परेको बताए।

‘रियल स्टेटमा आएको कमी कमजोरी अर्थात् व्यवसाय चलायमान नहुँदा सबै क्षेत्रमा चेन इफेक्ट देखिएको छ,’ उनले भने, ‘घर वा भौतिक संरचना बनाउँदा रड, सिमेन्टलगायत निर्माण सामग्रीको कारोबार नहुने भएकाले त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ।’

उनका अनुसार घरजग्गा क्षेत्रमा कर्जाको सहज पहुँच नहुँदा पनि कारोबार प्रभावित भएको छ। रियल स्टेट क्षेत्रलाई नेपाल राष्ट्र बैंकले पर्याप्त प्राथमिकता नदिएको उनको आरोप छ।

‘लोन टु भ्यालु रेसियो ७० प्रतिशत न्यूनतम राख्नुपर्छ भन्यौं। उहाँहरूले गर्न पनिुभयो तर केही शब्दका कारण कार्यान्वयनमा आएन,’ मल्होत्राले भने, ‘त्यसपछि कुनै पनि निकायले रियल स्टेटलाई प्राथमिकतामा राखेन।’

उनले घरजग्गा क्षेत्रलाई बेवास्ता गरिए त्यसको असर मुलुकको अर्थतन्त्रमा अझ गम्भीर रूपमा पर्ने चेतावनी दिए।

‘म दाबीका साथ भन्छु, अझै पनि रियल स्टेट क्षेत्रलाई वेवास्ता गरिए सिंगो देशको अर्थतन्त्रमा गम्भीर असर पर्नेछ,’ उनले भने।

आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘सीजी प्रोपर्टिज नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ को पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मल्होत्राले घरजग्गामा लागू गरिएको हदबन्दीका कारण व्यवसायीहरू समस्यामा परेको पनि बताए।

सरकारले हदबन्दीसम्बन्धी समस्या समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुकुमार घिमिरेले विपद्पछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले पुनर्निर्माणलाई व्यवस्थित बनाउन सरकारले रियल स्टेट तथा निर्माण क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार २०:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।