Logo

समाचार

ग्यास बिक्री वितरण बिक्रेता र डिलरमार्फत हुने



काठमाडौं  नेपाल आयल निगमले खाना पकाउने ग्यासको बिक्री वितरण सम्बन्धित बिक्रेता तथा डिलरमार्फत नै गर्न आग्रह गरेको छ।

ग्यास अभावका कारण उपभोक्तालाई राहत दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयको परिसरबाट हुँदै आएको प्रत्यक्ष बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनमा ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै विगत तीन दिनदेखि कार्यालय परिसरमै ग्यास ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउँदै आएको थियो।

विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिइएको थियो।

निगमका अनुसार कार्यालय परिसरबाट बिक्री रोकिए पनि ग्यासको आपूर्ति तथा बिक्री वितरण पूर्ण रूपमा बन्द हुने छैन। उपभोक्ताले सम्बन्धित ग्यास बिक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत नियमित रूपमा ग्यास खरिद गर्न सक्नेछन्।

ग्यासको वितरण प्रणालीलाई नियमित बनाउन बिक्रेता तथा डिलरमार्फत नै बिक्री वितरण सञ्चालन गरिने निगमले जनाएको छ।

 

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार २१:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।