Logo

अर्थ

मुद्दा दायर गरेर लगानीकर्ताको विश्वास घटाउने, नीति ल्याएर मात्रै बजार उठ्दैन



काठमाडौं । धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताका प्रतिनिधिमाथि सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर फौजदारी कसुरको आरोप लगाउनेदेखि शेयर बजारमा लगानी गर्ने निर्णयकै आधारमा करिब एक सय जनाविरुद्ध धितोपत्र तथा बीमासम्बन्धी कसुरमा मुद्दा दायर गर्ने कार्यले लगानीकर्ताको विश्वासमा गम्भीर असर पारेको भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।

सरकारले पूँजी बजार सुधारका लागि जस्तोसुकै नीतिगत परिमार्जन घोषणा गरे पनि लगानीकर्ताको विश्वास कमजोर रहेको अवस्थामा त्यसको सकारात्मक प्रभाव बजारमा पर्न कठिन हुने उनीहरूको भनाइ छ।

पूँजी बजारमा लगानीकर्ताको विश्वास नै बजारको प्रमुख आधार भएकाले सरकारले सुधारको घोषणा गर्नुअघि विगतका कमजोरी र त्रुटि सच्याउनुपर्ने सुझाव दिइएको छ। गलत वा आधारहीन रूपमा दायर गरिएका मुद्दा फिर्ता लिने तथा विगतमा भएका त्रुटि स्वीकार गरी आवश्यक सुधारको प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ।

लगानीकर्तामाथि अनुसन्धान र कानुनी कारबाही आवश्यक भए पनि लगानी गर्ने निर्णय वा बजारमा सक्रिय रहेकै आधारमा गम्भीर फौजदारी कसुरको आरोप लगाउने प्रवृत्तिले समग्र लगानी वातावरणमा नकारात्मक सन्देश जाने उनीहरूको तर्क छ।

सरकारले एकातिर पूँजी बजारमा संस्थागत लगानी बढाउने, बजारको तरलता तथा गहिराइ विस्तार गर्ने र दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने नीति ल्याउने तथा अर्कोतिर लगानीकर्तामाथि अविश्वास सिर्जना हुने गतिविधि जारी राख्ने हो भने नीतिगत सुधारको अपेक्षित परिणाम आउन नसक्ने बताइएको छ।

त्यसैले पूँजी बजार पुनरुत्थानको पहिलो सर्त नै लगानीकर्ताको विश्वास पुनःस्थापना रहेको सरोकारवालाको भनाइ छ। सरकारले विगतमा भएका विवादित कारबाहीको समीक्षा गरी आधारहीन मुद्दा फिर्ता लिनुका साथै निष्पक्षता र कानुनी स्पष्टताको प्रत्याभूति दिनुपर्ने उनीहरूको सुझाव छ।

लगानीकर्ताको सरकार र नियामकप्रतिको विश्वास पुनःस्थापित भएपछि मात्र नयाँ नीतिगत व्यवस्थाले बजारमा सकारात्मक प्रभाव पार्ने र पूँजी बजारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गर्न सकिने उनीहरूको निष्कर्ष छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १५:५१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।