Logo

अर्थ

राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ६ लघुवित्तलाई गर्यो कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड पूरा नगरेको भन्दै ६ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तोकिएको न्यूनतम पुँजीकोष र अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगर्ने संस्थाहरूलाई कारबाहीको गरेको हो ।

केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षणले आर्थिक वर्ष २०८२/८३ चौथो त्रैमासमा नियामकीय प्रावधान उल्लंघन गरेको फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूति लघुवित्त, एनआईसी लघुवित्त, विन नेपाल लघुवित्त र सञ्जीवनी लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ। तीमध्ये ४ वटा लघुवित्तलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेकोमा र २ वटालाई अनिवार्य नगद मौज्दात कायम नगरेकोमा कारबाही गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तमा तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेपछि चारवटा लघुवित्तलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी नियमावली, २०७४ बमोजिम कारबाही गरिएको छ ।

६.१२ प्रतिशत मात्र पुँजीकोष कायम गरेको फर्वाड लघुवित्त वित्तीय संस्थालाई २०८३ वैशाख ८ गते र ६.३८ प्रतिशत पुँजीकोष रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थालाई २०८३ वैशाख १० गते विनियम ३ (क) अनुसार शीघ्र सुधारात्मक कारबाही गरिएको हो ।

यस्तै, ४.०८ प्रतिशत मात्र पुँजीकोष अनुपात रहेको मातृभूमि लघुवित्तलाई वैशाख २९ गते विनियम ३ (ख) अनुसार र ६.३९ प्रतिशत पुँजीकोष रहेको एनआईसी लघुवित्तलाई असार १२ गते विनियम ३ (क) बमोजिम कारबाही गरिएको छ । विन नेपाल लघुवित्तले २०८२ चैतमा अनिवार्य नगद मौज्दात कायम नगरेकाले पहिलो पटकका लागि ५ हजार ८ सय ३८ रुपैयाँ नगद जरिवाना तिराइएको छ। त्यसैगरी, सञ्जीवनी लघुवित्तले २०८२ चैतदेखि २०८३ असारसम्म लगातार चार महिना अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि ७१ हजार ३ सय ८८, १ लाख ६ हजार ७ सय ४०, १ लाख ४१ हजार २ सय १९ र १ लाख ४१ हजार १८ रुपैयाँ गरी कुल ४ लाख ६० हजार ३ सय ६५ रुपैयाँ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार ११:५८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।