Logo

समाचार

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह



बागलुङ  गण्डकी प्रदेशका केही स्थानमा अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजदेखि असोज ११ गतेसम्म गण्डकी प्रदेशका केही स्थानमा अति भारीदेखि भारी वर्षा हुनसक्ने विशेष मौसम बुलेटिन जारी गरेपछि प्रशासनले जिल्लामा विपद् जोखिम न्यूनीकरणका लागि तयारी थालेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम हुनसक्ने भन्दै सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ। बैठकले सबै सुरक्षा निकायलाई खोज तथा उद्धार सामग्रीसहित जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

जोखिमयुक्त बस्तीमा पूर्वसतर्कता अपनाउन स्थानीय तहसँग निरन्तर समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरिएको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै सुरक्षित स्थानमा रहन स्थानीय तह र स्थानीय प्रहरी इकाइमार्फत अनुरोध गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

भारी वर्षा हुने अनुमान गरिएका स्थान तथा खोला किनारका बस्तीमा समयमै सूचना प्रवाह गर्ने र जोखिममा रहेका बस्तीका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन जिल्लास्थित स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

बैठकले अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। त्यस्तै, विपद् उद्धारका लागि आवश्यक सामग्री तथा सडक अवरोध हटाउन जेसिबी र एक्साभेटरलगायत उपकरण तयारी अवस्थामा राख्न स्थानीय तहलाई आग्रह गरिएको छ।

आवश्यक उपकरणका लागि निर्माण व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी पूर्वतयारी गर्नसमेत स्थानीय तहलाई अनुरोध गरिएको प्रशासनले जनाएको छ।

 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार २०:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।