काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले पूर्वसावधानी र सतर्कता नै विपद् व्यवस्थापनको मुख्य आधार भएको उल्लेख गर्दै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वतयारी तीव्र बनाएको बताएका छन्।
उनका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ। नदी तटीय क्षेत्रमा सुरक्षा निकायमार्फत माइकिङ गरी स्थानीयलाई सचेत गराउने कामसमेत भइरहेको छ।
प्रधानमन्त्री शाहले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न र अनावश्यक लामो दूरीको यात्रा नगरी सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
राजमार्गका सुरक्षा जाँच चौकीले अघिल्लो चेकपोइन्टसँग समन्वय गरी सडक सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारीसाधन अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको उनले बताएका छन्।
सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राख्दै जोखिमयुक्त सडकखण्ड नजिक एक्स्काभेटर, लोडर र डोजरसहितका भारी उपकरण तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्। सडक डिभिजन कार्यालयलाई २४ घण्टा सक्रिय रहन तथा सडकको अवस्थाबारे नियमित सूचना सार्वजनिक गर्न निर्देशन दिइएको छ।
हिमाली तथा पहाडी क्षेत्रमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न समन्वय गर्न व्यवसायीलाई आग्रह गरिएको छ। मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
७५३ वटै स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी पूर्वतयारी गर्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न भनिएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रसेवक कर्मचारीलाई सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहसँगको समन्वयमा असोज ९ गते आवश्यकता अनुसार विद्यालयको पठनपाठन सञ्चालन नगर्न तथा तोकिएका परीक्षा स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताएका छन्। अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन पनि आग्रह गरिएको छ।
अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखी आकस्मिक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई समेत सक्रिय राखिएको छ।
प्रधानमन्त्री शाहले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा आवश्यक खाद्यान्न मौज्दात कायम राख्न निर्देशन दिइएको र राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गरिने बताएका छन्। मौसमको अवस्था देखाएर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनुचित मूल्यवृद्धि गर्नेमाथि कारबाही गर्न बजार अनुगमन तीव्र पार्न निर्देशन दिइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर नागरिकलाई एसएमएस अलर्ट पठाइएको र सञ्चारमाध्यममार्फत मौसमसम्बन्धी नियमित सूचना तथा सावधानीका उपाय प्रसारण गर्न निर्देशन दिइएको पनि प्रधानमन्त्री शाहले बताएका छन्।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गरेका छन्।
आपत्कालीन अवस्थामा हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, स्वास्थ्य हेल्पलाइन १११५ लगायतका नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
‘सावधान रहौँ, सुरक्षित रहौँ,’ प्रधानमन्त्री शाहले भनेका छन्।


















प्रतिक्रिया