Logo

प्रमुख समाचार

देउवालाई उदृत गर्दै गगनले कम्युनिस्ट मन्त्रीलाई तनाब हुनेकुरा भनेपछि…



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘कम्युनिस्टहरूले जिते भने अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन’ भन्ने गरेको अभिव्यक्ति शुक्रबारको संसदबाट पुष्टि हुने क्रममा अगाडि बढेको छ ।खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल नियमन गर्ने बहानामा नियन्त्रण गर्न बनेको विधेयक संसदमा पेश गरेपछि नेपाली कांग्रेसले अधिनायकवादले जरो गाड्न थालेको बताए ।

नेपाली कांग्रेसका सांसदहरूले कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र देखाउन थालेको भन्दै सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकको विरोध गरे । कांग्रेसका सांसदहरूले नियमनको नाममा सामाजिक सञ्जाल नियन्त्रण गर्न थालिएको आरोप लगाए ।

नेपाली कांग्रेसका सांसदहरू पुष्पा भुसाल, गगन थापा, डिला संग्रौला पन्त, दीव्यमणि शाहले कम्युनिस्ट सरकारले सदनमा पेश गरेको विधेयकको विरोध गरे । उनीहरूले विधेयकमाथि संसदमा छलफल गरेर मात्रै केही नहुने भन्दै सडकबाट यसलाई फाल्नुपर्ने बताए ।

तर, नेकपाका सांसदहरूले सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकको खुलेर प्रशंसा गरे । विधेयकको समर्थन गर्दै अभिव्यक्ति दिने नेकपाका सांसदहरूमा योगेश भट्टराई, खगराज अधिकारी, महेश बस्नेत, विमला विक, रेणुका गुरुङ, सूर्यप्रसाद पाठकलगायतका थिए ।

संसदमा विधेयकमाथि छलफलका क्रममा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसको आलोचना गरे । उनले विशेष गरेर गगन थापामाथि केन्द्रित भएर लामो जवाफ दिएका थिए ।

बास्कोटाले कम्युनिस्टहरूलाई जनताले मन पराएर दुई तिहाइ भोट दिएकाले कांग्रेसले पनि त्यो कुरालाई स्वीकार गरेर मान्नुपर्ने बताए ।‘हामी कम्युनिस्टहरूलाई जनताले मन पराएका छन् । दुई तिहाइ भोट दिएका छन् ।

कम्युनिस्ट र दुई तिहाइको दम्भ भनेर सधैँ आलोचना गर्नुपर्ने आवश्यक्ता कांग्रेसलाई छैन’, उनले भने, ‘आलोचना मात्रै गर्ने हो भने कांग्रेसलाई सलाम छ ।’संसदमा अत्यन्तै कठोर र रुखो जवाफ दिएका मन्त्री बास्कोटाले सामाजिक सञ्जालका कारण समाजमा ठूलो बिग्रह आएको बताउँदै नेपालमा दर्ता भएपछि मात्रै चलाउन पाइने जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार  १२ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।