प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विज्ञहरुलाई राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् ।भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई भारतसँग राष्ट्रिय हितका विषयमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका हुन् ।
जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन आज सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।बैठकमा नेपाल–भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यसअनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस विषयलाई गम्भिरताका साथ उठाउनु पर्ने बताए ।‘हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘सिरानबाट नहर बग्ने तर, हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहुँदैन ।’
२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घनमिटर प्रतिसकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउन भारतलाई तत्पर गराउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।बैठकमा उर्जा मन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु प्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई लागयतको सहभागिता थियो ।




















प्रतिक्रिया